: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि छलफल हुने जानकारी दिएका छन्।
भेटवार्तामा विशेषगरी रुस–युक्रेन युद्ध, ब्ल्याक सी क्षेत्रको सुरक्षा तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रम मुख्य एजेन्डा रहनेछन्।
रुस र युक्रेन दुवैसँग सम्बन्ध कायम राख्दै आएको टर्की पछिल्लो समय ब्ल्याक सी क्षेत्रमा व्यापारिक जहाजमाथि भइरहेका आक्रमणप्रति असन्तुष्ट छ। टर्कीका राष्ट्रपति एर्दोगानले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै यस्ता आक्रमण अस्वीकार्य रहेको बताएका थिए।
अङ्काराले नागरिक जहाजमाथिका आक्रमण रोक्न रुस तथा युक्रेन दुवै पक्षलाई प्रस्ताव पठाए पनि त्यसमा ठोस प्रगति हुन सकेको छैन। टर्कीले यसअघि पनि दुई देशबीच दिगो युद्धविराम र शान्ति सम्झौताका लागि विभिन्न चरणमा वार्ता आयोजना गर्दै आएको छ।
यसैबीच, बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन वार्तामा एर्दोगानले रुस र युक्रेनबीच कूटनीतिक संवाद पुनः सुरु गर्न तथा वार्तामार्फत युद्ध अन्त्य गर्न टर्की तयार रहेको बताएका थिए।