: नेपाली सेनाले विपद् व्यवस्थापनका लागि बृहत् तथा एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने जनाएको छ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सेनाका सहायक रथी सुवासजंग थापाले भोटेकोशी बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै विपद् व्यवस्थापनमा सरकारको बृहत् तथा एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने बताएका हुन्।
उनले विपद्पछि पुनःस्थापना र पुनर्निर्माणको कार्यको मुख्य नेतृत्व सम्बन्धित जिल्लाले नै लिनुपर्ने सुझाव दिए। भोटेकोशी बाढीपछि धेरै सडकहरू क्षतिग्रस्त भए पनि प्राथमिकतामा रहेका सडक निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले विपद्को उच्च जोखिममा रहेका ग्लेसियरहरूको सम्भावित क्षतिलाई ध्यानमा राखेर परिमार्जित ‘वे अहेड तय गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, सहायक रथी थापाले भोटेकोशी बाढीको खबर प्राप्त हुनेबित्तिकै जंगी अड्डाबाट स्थानीय युनिटहरूलाई अलर्ट गराइएको र तत्काल हवाई साधनमार्फत फौज परिचालन गरेर उद्धारको काम सुरु गरिएको उल्लेख गरे। तत्काल खोज तथा उद्धार, खोज तथा पुनरुत्थान, र पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा नेपाली सेना निरन्तर लागिपरेको उनको भनाइ छ।