मुख्य समाचार
समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको
समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको

। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको जनाएको छ।

पार्टीले स्थापित कानुनी तथा संस्थागत प्रक्रियालाई छलेर पत्रकारलाई नियन्त्रणमा लिने कार्य कुनै पनि अर्थमा न्यायोचित हुन नसक्ने स्पष्ट पारेको छ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा कार्यालयमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यस्तो धारणा सार्वजनिक गरेको हो।

पार्टीले प्रकाशित समाचार सामग्रीप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको निरूपणका लागि राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र वैधानिक निकायहरू रहेको उल्लेख गरेको छ।

‘सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन हो। यस्ता कदमलाई कुनै पनि अर्थमा न्यायोचित मान्न सकिँदैन,’ रास्वपा प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा छ ।

रास्वपाले कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि लोकतान्त्रिक आचरणअनुकूल हुन नसक्ने जनाएको छ।

रास्वपाका अनुसार प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात हो।

समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु पत्रकारको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्मसमेत रहेको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले पत्रकारहरूलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको घटनाबारे निष्पक्ष, पारदर्शी तथा यथार्थ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

त्यस्तै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न पनि पार्टीले जोडदार माग गरेको छ।

कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठाको पत्रकारिता जारी राख्न सञ्चारकर्मीहरूलाई आह्वान गर्दै रास्वपाले सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता प्रकट गरेको छ।

सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि सदैव अग्रमोर्चामा उभिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले यस्तो तयारी गरेको हो । यसैक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीका अनुसार नेपालीले निर्माण गरेको विश्व चर्चित ...
। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो ...
। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् । विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ । यसबारे सांसद खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्ने दाबी पुष्टि नभएको व्यक्तिसँग श्रीमानहरूले किन सम्पर्क ...