: नेपालका मधुसुधन सापकोटाले प्रथम सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। शनिबार भएको ४९ वर्षमुनिको एकल पुम्सेमा उनले स्वर्ण पदक जितेका हुन्। यस स्पर्धामा मोहमद नइम अलीले रजत र अस्ट्रेलियाका प्रविण थापा र मलेसियाका कृष्ण खड्काले कांस्य पदक जिते।
यसैगरी ग्योरोगीको सिनियर पुरुष ५४ केजी तौल समूहमा करण धोलीले नेपालकै अंकित सहनीलाई हराउँदै स्वर्ण जिते। अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराएका थिए। करणले बंगलादेशका मोहम्मद साहिन अली र नेपालकै अजय घर्तीलाई हराउँदै फाइनलमा यात्रा तय गरेका थिए।
फाइनलमा पनि उनी हाबी भए। यसै विधामा अजय घर्ती र रौनक राउत तेस्रो भए। सब जुनियर महिला यू–२६ केजी तौलसमूहमा आयोजकका साहिल मन्सुरले नेपालकै अभिमन्यु गजुरेललाई हराउँदै स्वर्ण जिते। यसै विधामा भारतका अर्ष सोफियन कुरेस र नेपालका सूर्यान्सजंग न्यौपानेले कांस्य जित्न सफल भए।
सब जुनियर महिला २५ केजीमा दीपान्सी बायादीले स्वर्ण जितिन्। उनले फाइनलमा सार्वाना क्षत्रीलाई हराइन्। यस तौलमा आत्मिका लिम्बू र चिरागी बस्याल कांस्य पदकमा नै सीमित भए। पुरुष सिनियर ५८ केजीमा नेपालका राजन लामाले स्वर्ण जिते। उनले फाइनलमा नेपालकै मोहमद हुसेलाई हराए।
यस विधामा नेपालकै कमल खड्का र अन्सुल परियारले कांस्य पदक पाए। सब जुनियर पुरुष २८ केजी तौलमा नेपालका सुप्रिम गुरुङले फाइनलमा नेपालकै सलिन अधिकारीलाई हराए। पुरुष ५८ केजी तौलसमूहमा नेपालका मोहम्मद हुसेनले स्वर्ण जिते। उनले फाइनलमा रोजन लामालाई हराए। महिला ४६ केजीमुनि नेपालकी दीक्षा तामाङले स्वर्ण जितिन्। उनले स्वर्णको प्रतिस्पर्धामा नेपालकै रस्मिका गुरुङलाई हराइन्। यस तौलमा प्रकृति मल्ल र अञ्जली चौधरीले स्वर्ण जिते।
यसैगरी पुरुष पुम्से (१०–११ वर्षको समूह) मा कियानराज कटुवालले स्वर्ण, समर्थ केसी रजत तथा श्रवण गुरुङ र रयान अर्यालले कांस्य जिते। यसै उमेरसमूहको महिलामा बितिशा तामाङले स्वर्ण जितिन्। एरिका न्यौपानेले रजत जितिन्।
यसै विधामा राज्बी श्रेष्ठ र मालाश्री महर्जनले कांस्य जिते। १४ वर्ष उमेर समूहको पुम्सेमा नेपालकी रेवा काफ्लेले स्वर्ण र मुना थापाले रजत पदक जितिन्। पुरुष १५ देखि १७ वर्ष उमेरसमूहमा बिसु राईले स्वर्ण, सचिन विकले रजत जित्दा अश्विन लामा र शान केसीले कांस्य पदक जितेको आयोजक चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए।
च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए। टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। च्याम्पियनसिपमा ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।