मुख्य समाचार
अमेरिकामा जारी मध्यावधि निर्वाचनको अन्तिम मतदान आगामी नोभेम्बर ३ मा हुँदै
अमेरिकामा जारी मध्यावधि निर्वाचनको अन्तिम मतदान आगामी नोभेम्बर ३ मा हुँदै

: अमेरिकामा जारी मध्यावधि निर्वाचनको अन्तिम मतदान आगामी नोभेम्बर ३ मा हुँदैछ। राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचन भएकाले यसलाई मध्यावधि निर्वाचन भनिएको हो। कार्यकारी राष्ट्रपति रहने अमेरिकामा राष्ट्रपतिको दुई वर्षे कार्यकाललाई आमजनता र मतदाताले कसरी लिइरहेका छन् भन्ने लेखाजोखासमेत चुनावबाट हुने अपेक्षा गरिन्छ।

मध्यावधि निर्वाचनमा अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ सिटका साथै माथिल्लो सदन अर्थात् सिनेटको ३५ सिटका लागि निर्वाचन हुँदैछ। साथै, संघीय संरचनामा रहेको र राज्य अत्यन्त बलियो भएको अमेरिकाको ३६ राज्यका गर्भनर चुन्नसमेत निर्वाचन भइरहेको छ।

त्यस्तै, ४६ राज्यको राज्य सांसद चुन्न पनि मतदान भइरहेको छ। सिटी, काउन्टी लगायतका स्थानीय निकायमा जनप्रतिनिधि चुन्न पनि मतदान भइरहेको छ। अमेरिकामा अग्रिम मतदान (अर्लि भोटिङ), हुलाक मार्फत मतदान (मेल ईन भोटिङ) समेत हुने भएकाले त्यस प्रक्रियामार्फत पनि कतिपय मतदाताले मत दिइसकेका छन्। अक्टुबर १९ देखि ३० सम्म अर्लि भोटिङको समय रहेको थियो। सत्तारूढ रिपब्लिकन पार्टी र विपक्षी डेमोक्र्याटिक पार्टीबीच प्रतिनिधिसभा, सिनेट तथा राज्य स्तरीय नेतृत्वमा आफ्नो प्रभाव कायम राख्न वा सत्तामा पुग्न प्रतिस्पर्धा भइरहेको छ। हाल हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीका २१८ र डेमोक्रेटिक पार्टीको २१४ सांसद रहेका छन्।

एक जना स्वतन्त्र सांसद र दुई सिट खाली रहेको छ। यस्तै, हाल सिनेटमा रिपब्लिकन पार्टीका ५३ र डेमोक्रेटसँग गठबन्धनमा रहेका दुई स्वतन्त्र सदस्यसहित डेमोक्रेटिक पक्षका ४७ सदस्य छन्। हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेट दुवैमा सत्तारूढ दल रिपब्लिकन बहुमतमा रहेको अवस्था छ। दुवै सदनलाई जोडेर भनिने ५ सय ३५ सदस्यीय कांग्रेसमा रिपब्लिकन को पकड रहेको छ। त्यसैले यो मध्यावधि निर्वाचन रिपब्लिकनका लागि बहुमत कायम राख्ने चुनौतीको रूपमा रहेको छ भने डेमोक्रेटिकका लागि बहुमतका पुग्ने अवसरको रुपमा रहेको छ।

निर्वाचन परिणामले कार्यकारी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको दोस्रो कार्यकालको दुई वर्षको कामलाई अनुमोदन गर्छ वा प्रश्न गर्छ त्यसको रूपमा समेत हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। मध्यावधि निर्वाचन परिणामले ट्रम्पलाई कंग्रेसमार्फत कस्नेछ वा अझ खुला भएर काम गर्ने अवसर दिनेछ त्यसको प्रतिक्षामा विश्व नै अडिएको छ।

यो निर्वाचनको परिणाम जे आए पनि राष्ट्रपतिलाई दैनिक प्रशासन चलाउन भने ठूलो असर पर्ने छैन। अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ्सको चुनाव प्रत्येक दुई वर्षमा हुन्छ भने सिनेटरको कार्यकाल ६ वर्ष हुन्छ तर प्रत्येक दुई वर्षमा १ सय सिट मध्ये एक तिहाई सिटका लागि निर्वाचन हुन्छ। अमेरिकामा ५० राज्यबाट दुई जनाका हिसावले १ सय जना सिनेटर हुन्छन्।

प्रारम्भिक मतदानमा उत्साहजनक सहभागिता
नोभेम्बर ३ को निर्वाचनअघि विभिन्न राज्यमा प्रारम्भिक मतदान भइरहेको छ। उपलब्ध विभिन्न विवरणअनुसार करिब साढे ४ करोडभन्दा बढी मतपत्र प्रारम्भिक मतदान प्रक्रियाबाट प्राप्त भएका छन्। प्रारम्भिक मतदानको संख्यामा मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्ने र हुलाकमार्फत मतपत्र पठाउने दुवै प्रकारका मतदाता समावेश छन्।

अमेरिकामा करिब २१ करोड नागरिक मतदानका लागि दर्ता भएका छन् भने मतदान गर्न योग्य नागरिकको संख्या करिब २४ करोड ९७ लाख रहेको रहेको अनुमान छ।

ट्रम्प प्रशासनका लागि जनमत परीक्षण
राष्ट्रपति डोनाल्ड जे ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि भएका राजनीतिक, वैदेशिक तथा आर्थिक निर्णयहरू यस निर्वाचनका प्रमुख बहस बनेका छन्। रिपब्लिकन पार्टीले आफ्नो सरकारका उपलब्धि, सीमा सुरक्षा, कर नीति, रोजगारी र राष्ट्रिय सुरक्षालाई चुनावी अभियानको मुख्य विषय बनाएको छ। ट्रम्प विभिन्न राज्यमा रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा चुनावी कार्यक्रममा सहभागी भए।

अर्कोतर्फ, डेमोक्रयाटिक पार्टीले ट्रम्प प्रशासनका आर्थिक निर्णय, आप्रवासन नीति, स्वास्थ्य सेवा र सरकारी खर्चका विषयमा प्रश्न उठाउँदै मतदाताको समर्थन जुटाउने प्रयास गरिरहेको छ। यसपटक पूर्वराष्ट्रपति बाराक ओबामा सक्रियतापूर्वक चुनावी अभियानमा लागेका थिए। यदि रिपब्लिकन पार्टीले प्रतिनिधिसभा वा सिनेटमा आफ्नो बहुमत गुमायो भने ट्रम्प प्रशासनलाई आगामी दिनमा कानुन निर्माण, बजेट पारित र प्रशासनिक नीतिहरू कार्यान्वयन गर्न थप राजनीतिक चुनौती आउन सक्छ।

३५ सिनेटरका लागि निर्वाचन
यसपटक अमेरिकी सिनेटका लागि ३५ राज्यमा मतदान हुँदैछ। कुल १०० सदस्यीय सिनेटमध्ये ३३ नियमित सिट र दुई विशेष निर्वाचन गरी ३५ सिटका लागि प्रतिस्पर्धा भइरहेको छ। सिनेट निर्वाचन हुने राज्यहरूमा अलाबामा, अलास्का, आर्कान्सास, कोलोराडो, डेलावेयर, फ्लोरिडामा, जर्जिया, आइडाहो, इलिनोइस, आयोवा, कान्सास, केन्टकी, लुइजियाना, मेन, म्यासाचुसेट्स, मिचिगन, मिनेसोटा, मिसिसिपी, मोन्टाना, नेब्रास्का, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्यु मेक्सिको, नर्थ क्यारोलाइना, ओहायो, ओक्लाहोमा, ओरेगन, रोड आइल्यान्ड, साउथ क्यारोलाइना, साउथ डकोटा, टेनेसी, टेक्सास, भर्जिनिया, वेस्ट भर्जिनिया र वायोमिङ छन्।

सिनेटमा बहुमतमा रहेको रिपब्लिकन का लागि अहिले निकै महत्त्वको चुनाव भइरहेको छ किनभने लामो समयदेखि रिपब्लिकन उम्मेद्वार विजयी हुँदै आएका विभिन्न राज्यमा अहिले डेमोक्रेटिक दलका उम्मेदवारको पल्ला भारी भएको विभिन्न सर्वेक्षणहरूले देखाइरहेका छन्। केही राज्यमा तीव्र प्रतिस्पर्धा रहेको छ। कतिपय अवस्थामा डेमोक्रेटिक पनि आफूले जित्दै आएको सिनेटको सिट जोगाउन गाह्रो परिरहेको छ।

टेक्सासका रिपब्लिकन उम्मेदवार केन प्याक्सटन र डेमोक्रयाटिक उम्मेदवार जेम्स टालारिकोबीच प्रतिस्पर्धा भइरहेको छ। जर्जिया डेमोक्र्याटिक सिनेटर जोन ओसोफको सिटका लागि निर्वाचन हुँदैछ। यी राज्य दुवै पार्टीका लागि महत्त्वपूर्ण प्रतिस्पर्धात्मक क्षेत्र बनेको छ। त्यसैगरी प्रतिस्पर्धा निकै नजिकको रहेको सर्वेक्षणहरूले देखाएकाहरूमा अलास्का पनि एक हो। जहाँ रिपब्लिकन सिनेटर ड्यान सुलिभान र डेमोक्र्याटिक उम्मेदवार मेरी पेल्टोलासम्बन्धी प्रतिस्पर्धा चर्चामा छ। यसैगरी, मेनमा रिपब्लिकन सिनेटर सुसान कोलिन्सको सिट पनि निर्वाचनमा परेको छ। आयोवामा पनि सिनेटको निर्वाचनमा रिपब्लिकन एश्ली हिन्सन र डेमोक्र्याटिक जोस टुरेकबीच प्रतिस्पर्धा छ। यसैगरी, ओहायोमा रिपब्लिकन जोन हस्टेड र डेमोक्र्याटिक शेरोड ब्राउन बीचको सिनेट प्रतिस्पर्धाले पनि राष्ट्रिय ध्यान आकर्षित गरेको छ।

३६ राज्यमा गभर्नर चुन्न निर्वाचन
यसपटकको मध्यावधि निर्वाचनमा संघीय संसद्का लागि मात्रै नभई अमेरिकाका ३६ राज्यमा गभर्नर पदका लागि पनि मतदान हुँदैछ। गभर्नर राज्य सरकारको प्रमुख कार्यकारी अधिकारी हुन्। अहिले अमेरिकामा २४ राज्यमा डेमोक्र्याटिक र २६ राज्यमा रिपब्लिकन गभर्नर छन्। राज्यको बजेट, शिक्षा, स्वास्थ्य सेवा, सार्वजनिक सुरक्षा, पूर्वाधार, कर तथा अन्य स्थानीय नीतिमा गभर्नरको महत्वपूर्ण भूमिका हुने भएकाले दुवै दल गभर्नर चुनावमा पनि गम्भीर देखिएका छन्।

५० राज्यमध्ये गभर्नर चुन्नका लागि निर्वाचन भइहेका राज्यहरूमा अलाबामा, अलास्का, एरिजोना, आर्कान्सास, क्यालिफोर्निया, कोलोराडा, कनेक्टिकट, फ्लोरिडामा, जर्जिया, हवाई, आइडाहो, इलिनोइस, आयोवा, कान्सास, मेन, मेरिल्यान्ड, म्यासाचुसेट्स, मिचिगन, मिनेसोटा, नेब्रास्का, नेभाडा, न्यु ह्याम्पसायर, न्यु मेक्सिको, न्युयोर्क, ओहायो, ओक्लाहोमा, ओरेगन, पेन्सिल्भेनिया, रोड आइल्यान्ड, साउथ क्यारोलाइना, साउथ डकोटा, टेनेसी, टेक्सास, भर्मन्ट, विस्कन्सिन र वायोमिङ छन्। गभर्नरका लागि निर्वाचन भइरहेको यी ३६ राज्यहरूका साथै अन्य १० राज्यहरू गरी कुल ४६ राज्यमा प्रदेश सांसद (स्टेट रिप्रिजेन्टेटिभ्स) चुन्न निर्वाचन भइरहेको छ।

गभर्नर चुन्न निर्वाचन नभइरहेको तर राज्य सांसद चुन्न चुनाव भइरहेको राज्यहरूमा डेलावेयर,इन्डियाना, केन्टकी, मिसौरी, मोन्टाना, नर्थ क्यारोलाइना, नर्थ डकोटा, युटाह, वासिङ्टन, र वेस्ट भर्जिनिया छन्। ५० मध्ये लुईजियाना, मिसिसिपी, न्यू जर्सी र भर्जिनियामा भने राज्य सांसद चुन्न वा गर्भनर चुन्न मतदान भएको छैन। मतदान भइरहेको ४६ मध्ये ३ राज्य कन्सास, न्यू मेक्सिको र साउथ क्यारोलिनामा राज्यको तल्लो सदनका सांसद चुन्न मतदान भइरहेको छ भने नेब्रास्कामा एउटामात्र सदनको व्यवस्था रहेको छ। अन्य दुई सदनात्मक व्यवस्था रहेका राज्य मध्य चुनाव भइरहेको ४६ मध्ये ४२ वटा राज्यमा राज्य सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स दुवैका लागि मतदान भइरहेको छ।

गभर्नरका लागि प्रतिस्पर्धा भइरहेको केही राज्यहरूको चुनाव विशेष चासोको विषय बनेको छ। एरिजोनामा डेमोक्रेटिक गभर्नर केटी हब्स पुनः निर्वाचनका लागि मैदानमा छिन्। उनको प्रतिस्पर्धा रिपब्लिकन उम्मेदवार एन्डी बिग्ससँग भइरहेको छ। यस्तै, मिचिगनका गभर्नर ग्रेचेन ह्विटमरको कार्यकाल सीमा पूरा भएपछि नयाँ गभर्नर चयन हुँदैछ।

डेमोक्र्याटिक उम्मेदवार जोसलिन बेन्सन र रिपब्लिकन उम्मेदवार जोन जेम्सबीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै, चर्चामा रहेको अर्को राज्य जर्जिया हो। जहाँ डेमोक्रयाटिक उम्मेदवार किशा लान्स बटम्स र रिपब्लिकन उम्मेदवार रिक ज्याक्सनबीच प्रतिस्पर्धा भइरहेको छ। बटम्स निर्वाचित भए अमेरिकामा पहिलो अश्वेत महिला गभर्नर बन्ने छिन्। यस्तै, ओहायोमा रिपब्लिकन उम्मेदवार विवेक रामा स्वामी र डेमोक्रयाटिक उम्मेदवार एमी एक्टनबीच प्रतिस्पर्धा छ। चुनावी अभियानमा अर्थतन्त्र र स्वास्थ्य नीतिका विषय प्रमुख बनेका छन्। यसैगरी, आयोवामा वर्तमान गभर्नर किम रेनल्ड्स पुनः उम्मेदवार नबनेपछि यहाँ नयाँ नेतृत्व चयन हुँदैछ।

रिपब्लिकन उम्मेदवार जाक लान र डेमोक्याटिक उम्मेदवार रोब स्यान्ड प्रतिस्पर्धामा छन्। यस्तै, नेभाडामा रिपब्लिकन गभर्नर जो लोम्बार्डो र डेमोक्रयाटिक उम्मेदवार आरोन फोर्डबीच प्रतिस्पर्धा छ। त्यस राज्यमा महँगी, आवास र डाटा सेन्टरसम्बन्धी नीति प्रमुख बहसका विषय बनेका छन्। यसैगरी, विस्कन्सिनमा डेमोक्रेटिक उम्मेदवार डेभिड क्राउली र रिपब्लिकन उम्मेदवार टम टिफनीबीच प्रतिस्पर्धा भइरहेको छ। ट्रम्प प्रशासनसँगको राजनीतिक सम्बन्ध र गर्भपतन अधिकारसम्बन्धी विषय चुनावी बहसमा छन्।

महँगी र अर्थतन्त्र मतदाताको प्रमुख चिन्ता
मध्यावधि निर्वाचन भैरहँदा अमेरिकी मतदाताका लागि यसपटकको निर्वाचनमा अर्थतन्त्र सबैभन्दा महत्त्वपूर्ण विषयमध्ये एक बनेको छ। खाद्यान्न, घरभाडा, स्वास्थ्य बिमा, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्यले सर्वसाधारण परिवारको बजेटमा पार्ने प्रभाव चुनावी बहसको केन्द्रमा रहेको छ।

रिपब्लिकन पार्टीले आफ्नो आर्थिक नीतिले लगानी, रोजगारी र व्यवसाय विस्तारमा सहयोग गर्ने दाबी गर्दै आएको छ। डेमोक्रेटिक पार्टीले भने सर्वसाधारणको जीवनयापन खर्च घटाउने र मध्यम तथा न्यून आय भएका परिवारलाई आर्थिक राहत दिने विषयलाई प्राथमिकतामा राखेको छ।

आप्रवासन नीति र नेपाली समुदायको चासो
अमेरिकामा बसोबास गर्ने आप्रवासी समुदायका लागि पनि यो निर्वाचन विशेष चासोको विषय बनेको छ। ट्रम्प प्रशासनले सीमा सुरक्षा र आप्रवासन नियन्त्रणलाई प्राथमिकता दिँदै आएको छ। यसले भिसा, शरणार्थी प्रक्रिया, सीमा नियन्त्रण, अध्यागमन कार्यान्वयन र गैरकानुनी रूपमा बसोबास गरिरहेका व्यक्तिसम्बन्धी नीतिलाई चुनावी बहसको केन्द्रमा ल्याएको छ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पनि निर्वाचनको परिणामलाई चासोका साथ हेरिरहेका छन् । विद्यार्थी, अस्थायी कामदार, स्थायी बसोबासको प्रक्रियामा रहेका व्यक्ति, व्यवसायी तथा परिवार पुनर्मिलनको प्रतीक्षामा रहेका नेपालीहरूका लागि संघीय आप्रवासन नीतिमा हुने परिवर्तन महत्त्वपूर्ण हुन सक्छ। संघीय निर्वाचनका साथै, विभिन्न राज्यमा भइरहेको गभर्नर निर्वाचनदेखि राज्य सांसद चुन्ने निर्वाचनमा पनि नेपाली समुदायलगायत आप्रवासी समुदायको चासो बढेको छ। गभर्नर निर्वाचनले पनि आप्रवासी समुदायको जीवनमा प्रभाव पार्ने भएकाले यसतर्फ पनि आप्रवासी विशेष चासो राखेका छन्। राज्य सरकारले शिक्षा, स्वास्थ्य सेवा, स्थानीय प्रहरी प्रशासन, श्रम नीति तथा सार्वजनिक सेवासम्बन्धी विषयमा महत्त्वपूर्ण निर्णय गर्छ।

अमेरिकी मध्यावधि चुनाव र विश्वको नजर
२०२६ को अमेरिकी मध्यावधि निर्वाचन केवल रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीचको राजनीतिक प्रतिस्पर्धामात्र होइन। यसले आगामी दुई वर्ष अमेरिकाको विदेश नीति, चीनसँगको सम्बन्ध, रुस–युक्रेन युद्ध प्रतिको दृष्टिकोण, मध्यपूर्वको सुरक्षा र विश्व अर्थतन्त्रमा अमेरिकी भूमिकाको दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।यसैले नोभेम्बर ३ को निर्वाचनलाई विश्व समुदायले अमेरिकी संसद्को शक्ति सन्तुलन परिवर्तनको घटनाका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक सम्बन्धमा सम्भावित नीतिगत परिवर्तनको संकेतका रूपमा समेत हेरिरहेको छ। कार्यकारी राष्ट्रपतिको व्यवस्था रहने राष्ट्रपतिलाई कतिपय निर्णय गर्न र त्यसलाई लागू गर्न कांग्रेसको समर्थन अत्यावश्यक रहने संविधानले व्यवस्था गरेकाले पनि सांसद चुन्ने निर्वाचन अमेरिकाका लागि निकै महत्वपूर्ण रहने गर्दछ।

यसपटक मध्यावधि निर्वाचनमार्फत आउने परिणामले विश्वलाई प्रभाव पार्न सक्ने भएकाले विश्वकै ध्यान अमेरिकाको मध्यावधि निर्वाचनमा रहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बीचमा हुन लागेको यस निर्वाचनले अमेरिकी संसद्का दुवै सदन (प्रतिनिधिसभा र सिनेट) मा कुन राजनीतिक दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। निर्वाचनको परिणामले ट्रम्प प्रशासनका आगामी दुई वर्षका नीतिगत प्राथमिकता, बजेट, विदेश नीति तथा राजनीतिक निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्छ।

अमेरिकी मध्यावधि निर्वाचनले अमेरिका–चीन सम्बन्धमा पनि प्रभाव पार्ने देखिन्छ। अमेरिका र चीनबीचको व्यापारिक प्रतिस्पर्धा, प्रविधिमा वर्चस्व, ताइवानको सुरक्षा तथा इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव विस्तार प्रमुख रणनीतिक विषयका रूपमा छन्।चीनले रुसलाई उपलब्ध गराउँदै आएको औद्योगिक तथा आर्थिक सहयोगको विषय पनि अमेरिकी चासोमा पर्दै आएको छ। अमेरिकी संसद्मा शक्ति सन्तुलन परिवर्तन भएमा चीनप्रति अपनाइने व्यापार, सुरक्षा र कूटनीतिक नीतिमा फरक प्राथमिकता देखिन सक्छ। यसको प्रभाव एसियाली क्षेत्रको सुरक्षा र विश्व व्यापारमा समेत पर्न सक्छ।

यस्तै, रुस र युक्रेनबीच जारी युद्धमा अमेरिकाको सैन्य, आर्थिक तथा कूटनीतिक सहयोग महत्त्वपूर्ण विषय बनेको छ। रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच युक्रेनलाई सहायता उपलब्ध गराउने विषयमा फरक दृष्टिकोण रहँदै आएको छ। निर्वाचनपछि संसद्को शक्ति सन्तुलन परिवर्तन भएमा युक्रेनलाई दिइने आर्थिक तथा सैन्य सहायता, रुसमाथिका प्रतिबन्ध र युद्ध समाधानका लागि अपनाइने अमेरिकी रणनीतिमा प्रभाव पर्न सक्छ । यसले युरोपको सुरक्षा व्यवस्थालाई समेत प्रभावित गर्न सक्नेछ।

अर्को महत्त्वपूर्ण पक्ष मध्यपूर्वको तनाव र अन्तर्राष्ट्रिय तेल बजारमा प्रभाव रहेको छ। इरान, इजरायल र मध्यपूर्वको समग्र सुरक्षा अवस्था पनि अमेरिकी निर्वाचनसँग जोडिएको अर्को महत्त्वपूर्ण विषय हो। विशेषगरी स्ट्रेट अफ होर्मुज विश्वको तेल आपूर्तिका लागि रणनीतिक समुद्री मार्ग भएकाले त्यहाँ उत्पन्न हुने कुनै पनि तनावले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्न सक्छ। अमेरिकी विदेश तथा सुरक्षा नीतिमा आउने परिवर्तनले मध्यपूर्वसँगको सम्बन्ध, इजरायललाई दिइने सहयोग र इरान प्रतिको नीतिमा प्रभाव पार्न सक्छ। क्षेत्रीय तनाव बढेमा कच्चा तेलको मूल्य, ढुवानी लागत र विश्वव्यापी महँगीमा समेत असर पर्न सक्छ।

यसैगरी, अमेरिकी व्यापार नीति र विश्व अर्थतन्त्रमा समेत अमेरिकी मध्यावधि निर्वाचन असर देखिनेछ। अमेरिका विश्व अर्थतन्त्रको प्रमुख केन्द्र भएकाले त्यहाँको व्यापार तथा आर्थिक नीतिमा आउने परिवर्तनले अन्य देशलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्छ।

विशेषगरी अमेरिकी भन्सार शुल्कमा हुने परिवर्तनले अन्तर्राष्ट्रिय व्यापारलाई प्रभावित गर्न सक्छ। अमेरिकी डलरको मूल्यमा हुने उतारचढावले विकासशील देशहरूको विदेशी मुद्रा सञ्चिति, ऋण भुक्तानी र आयात खर्चमा असर पार्न सक्छ। त्यस्तै, अमेरिका र चीनबीचको व्यापार तनावले विश्वव्यापी आपूर्ति शृंखला तथा अन्तर्राष्ट्रिय लगानीमा समेत प्रभाव पार्न सक्छ।

नेपाललाई पनि अप्रत्यक्ष प्रभाव
अमेरिकी निर्वाचनको परिणामले नेपाललाई पनि अप्रत्यक्ष रूपमा प्रभावित गर्न सक्छ। अमेरिकी आर्थिक सहायता, विकास कार्यक्रम, व्यापार नीति, डलरको विनिमय दर र दक्षिण एसिया प्रतिको अमेरिकी कूटनीतिक प्राथमिकतामा आउने परिवर्तनले नेपालको अर्थतन्त्र तथा द्विपक्षीय सम्बन्धमा प्रभाव पार्न सक्छ। विशेषगरी अमेरिकामा रहेका नेपाली समुदाय, नेपालमा आउने रेमिट्यान्स, अन्तर्राष्ट्रिय लगानी र विकास सहयोगका विषयमा अमेरिकी नीतिगत परिवर्तन महत्त्वपूर्ण हुन सक्छ।

राष्ट्रपति ट्रम्पका लागि विशेष चासोको निर्वाचन
राष्ट्रपति डोनाल्ड जे ट्रम्पका लागि मध्यावधि निर्वाचन निकै महत्त्वको निर्वाचन भएको छ। कांग्रेसका दुवै सदनमा रिपब्लिकन बहुमत सहित राष्ट्रपति कार्यकाल दुई वर्ष खुल्ला ढंगले चलाउन पाएका राष्ट्रपति ट्रम्पका लागि मध्यावधि निर्वाचन कार्यकारी राष्ट्रपतिको रूपमा खुल्ला ढंगबाट बाँकी कार्यकाल पुरा गर्न पाउने वा खुम्चिएर कार्यकाल सक्ने अवस्था आउने हो यो अहम् विषय बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

यस निर्वाचनपछि रिपब्लिकन पार्टीले दुवै सदनमा नियन्त्रण कायम राखेमा ट्रम्प प्रशासनलाई आफ्ना विधेयक, बजेट र नीतिगत प्राथमिकता अघि बढाउन तुलनात्मक रूपमा सहज हुन सक्छ। यस्तै, डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमा नियन्त्रण हासिल गरेमा ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय निगरानी, अनुसन्धान र राजनीतिक जवाफदेहिताको दबाब बढ्न सक्छ। यसैगरी, डेमोक्रेटिक पार्टीले दुवै सदनमा नियन्त्रण हासिल गरेमा बजेट, सरकारी नियुक्ति, विधेयक तथा प्रशासनका नीतिगत निर्णयमा थप संसदीय अवरोध र निगरानी देखिन सक्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा वर्षौंदेखि फसेका नागरिकको उद्धार गरिएको छ । मानवीय युद्धविरामपछि उद्धार गरिएका नागरिक युक्रेनको चेर्निहिभ क्षेत्रमा प्रवेश गरेसँगै लामो समयदेखि बिछोडिएका परिवारका सदस्यबीच भावुक पुनर्मिलन भएको बिबिसिले जनाएको छ । उद्धारका क्रममा तीन वर्षदेखि भेट नभएका परिवारका सदस्य एकअर्कालाई देखेपछि खुसीले रोएका थिए । दुई दिदीबहिनी आफ्ना बुबालाई देख्नेबित्तिकै दौडिएर ...
: इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्ना मन्त्रिपरिषद्का सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई सैन्य तालिममा सहभागी गराएका छन् । प्रधानमन्त्री अहमदले सैन्य अनुशासनले नेतृत्वलाई थप सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्ने भन्दै मन्त्रीहरूलाई सैन्य अभ्यासमा सहभागी गराएका हुन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा मन्त्री, उपमन्त्री तथा सरकारी निकायका प्रमुखहरूसँगै आफैँ पनि सैन्य अभ्यासमा सहभागी भएको देखिन्छ ...
: अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् । उत्तर कोरियाले भने आफू परमाणु हतियार सम्पन्न राष्ट्र भएको हैसियतबाट पछि नहट्ने अडान राख्दै आएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो, दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीबीच शुक्रबार अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा भएको जी-२० बैठकका ...
: रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने ...
। अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि ...