: अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएका छन् । उत्तर कोरियाले भने आफू परमाणु हतियार सम्पन्न राष्ट्र भएको हैसियतबाट पछि नहट्ने अडान राख्दै आएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो, दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीबीच शुक्रबार अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा भएको जी-२० बैठकका क्रममा छलफल भएको थियो । उक्त छलफलमा तीनै देशले उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
तीन देशले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूको पूर्ण कार्यान्वयनमा समेत जोड दिएका छन् । ती प्रस्तावले उत्तर कोरियाको परमाणु तथा ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई आर्थिक सहयोग पुग्ने गतिविधिमा प्रतिबन्ध लगाएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना चीनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा भेटवार्ता हुन सक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले उत्तर कोरियासँग परमाणु वार्ताका लागि पटक–पटक इच्छा व्यक्त गर्दै आएका छन् ।
तर प्योङयाङले आफ्नो परमाणु हतियार भण्डार स्थायी र अपरिवर्तनीय रहेको बताउँदै निःशस्त्रीकरणको प्रस्ताव अस्वीकार गर्दै आएको छ । उत्तर कोरियाले आफ्नो कानुनमै आफूलाई परमाणु हतियार सम्पन्न राष्ट्रका रूपमा स्थापित गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पनि उत्तर कोरियासँग पूर्वसर्तबिना वार्ता गर्नुपर्ने धारणा राख्दै आएका छन् । उनले गत सेप्टेम्बरमा उत्तर कोरियाको परमाणु कार्यक्रम तत्काल अन्त्य गराउनेभन्दा त्यसलाई रोक्ने र त्यसको बदलामा प्रतिबन्धमा राहत दिने प्रस्ताव अघि सारेका थिए ।
तर आलोचकहरूले यस्तो नीतिले उत्तर कोरियालाई परमाणु हतियार सम्पन्न राष्ट्रका रूपमा अप्रत्यक्ष मान्यता दिने र हतियार भण्डार कायम राखेरै प्रतिबन्धमा राहत पाउने अवस्था सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच, उत्तर कोरियाले शनिबार प्रतिबन्ध कार्यान्वयनको अनुगमन गर्ने राष्ट्रहरूको समूहको संयुक्त वक्तव्यको निन्दा गरेको छ । उसले अमेरिका र पश्चिमी देशका प्रतिबन्धले आफ्नो परमाणु हतियार सम्पन्न राष्ट्रको हैसियतमा कुनै प्रभाव पार्न नसक्ने प्रतिक्रिया दिएको छ ।
उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका, दक्षिण कोरिया र जापानको साझा अडान कायम रहे पनि प्योङयाङले निःशस्त्रीकरण अस्वीकार गर्दै आएकाले सम्भावित वार्ताको दिशा अझै अनिश्चित देखिएको छ ।