: इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्ना मन्त्रिपरिषद्का सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई सैन्य तालिममा सहभागी गराएका छन् ।
प्रधानमन्त्री अहमदले सैन्य अनुशासनले नेतृत्वलाई थप सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्ने भन्दै मन्त्रीहरूलाई सैन्य अभ्यासमा सहभागी गराएका हुन् ।
उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा मन्त्री, उपमन्त्री तथा सरकारी निकायका प्रमुखहरूसँगै आफैँ पनि सैन्य अभ्यासमा सहभागी भएको देखिन्छ । उनीहरूलाई हुर्सोस्थित सैन्य तालिम केन्द्रमा प्रशिक्षण दिइएको हो ।
तालिममा हाउस अफ फेडरेसनकी सभामुख मुफेरियात कामिल, अर्थमन्त्री फिट्सुम असेफा र स्वास्थ्यमन्त्री मेकडेस डाबासहितका उच्च अधिकारी सहभागी छन् । तालिम कहिलेदेखि सुरु भएको हो र कति समयसम्म सञ्चालन हुनेछ भन्नेबारे भने स्पष्ट पारिएको छैन ।
प्रधानमन्त्री अहमदका अनुसार मुलुकको समृद्धिको लक्ष्य हासिल गर्न नेतृत्व शारीरिक रूपमा स्वस्थ, नैतिक रूपमा बलियो र बौद्धिक रूपमा सक्षम हुन आवश्यक छ । सैन्य संस्थाबाट अनुशासन, देशभक्ति, सामूहिक कार्य, जवाफदेहिता र नेतृत्व विकासका महत्त्वपूर्ण पाठ सिक्न सकिने उनको भनाइ छ ।
उनले सैनिकका लक्ष्य र सर्वसाधारणका उद्देश्य फरक भए पनि दुवैको अन्तिम उद्देश्य सफलता भएको उल्लेख गरेका छन् ।
इथियोपियामा सरकारी अधिकारीहरूलाई सैन्य तालिममा सहभागी गराउने अभ्यास असामान्य मानिन्छ। यस्तो तालिम मुलुकका विभिन्न क्षेत्रमा सुरक्षा चुनौती बढिरहेका बेला आयोजना गरिएको हो ।
हाल इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा द्वन्द्व, अम्हारा क्षेत्रमा संघर्ष र ओरोमिया क्षेत्रमा असुरक्षाको अवस्था कायम छ । छिमेकी मुलुक इरिट्रियासँग पनि तनाव बढिरहेका बेला पुनः द्वन्द्व हुन सक्ने आशंका व्यक्त हुँदै आएको छ ।
प्रधानमन्त्री अहमदले यसअघि पनि राष्ट्रिय सुरक्षा तयारी र विकासलाई आफ्नो सरकारको प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गर्दै आएका छन् ।