मुख्य समाचार
रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा वर्षौंदेखि फसेका नागरिकको उद्धार
रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा वर्षौंदेखि फसेका नागरिकको उद्धार

: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा वर्षौंदेखि फसेका नागरिकको उद्धार गरिएको छ । मानवीय युद्धविरामपछि उद्धार गरिएका नागरिक युक्रेनको चेर्निहिभ क्षेत्रमा प्रवेश गरेसँगै लामो समयदेखि बिछोडिएका परिवारका सदस्यबीच भावुक पुनर्मिलन भएको बिबिसिले जनाएको छ ।

उद्धारका क्रममा तीन वर्षदेखि भेट नभएका परिवारका सदस्य एकअर्कालाई देखेपछि खुसीले रोएका थिए । दुई दिदीबहिनी आफ्ना बुबालाई देख्नेबित्तिकै दौडिएर अँगालो हाल्न पुगेका थिए । उनीहरूका लागि वर्षौंदेखिको प्रतीक्षा र परिवारसँग पुनर्मिलनको क्षण निकै भावुक बनेको थियो ।

कतिपय वृद्धवृद्धालाई स्ट्रेचरमा बोकेर उद्धार गरिएको थियो। उनीहरू लामो समयदेखि खाद्यान्न, खानेपानी र विद्युत् सुविधाविनै सहरमा बस्न बाध्य थिए। भोकमरीको अवस्था यति गम्भीर बनेको थियो कि कतिपयले बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खानुपरेको थियो ।




उद्धार गरिएका नागरिकमध्ये सबैभन्दा ज्येष्ठ ९४ वर्षका र सबैभन्दा कम उमेरका एक वर्षका बालक रहेको युक्रेनका मानव अधिकार लोकपाल दिमित्रो लुबिनेट्सले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्धारका लागि स्थानीय युद्धविरामको वातावरण बनाउन सहयोग गरेको भन्दै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले उद्धार गरिएका सबै नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराइने पनि बताएका छन् ।

युद्धका कारण घर गुमाएका कतिपय नागरिक छिमेकीका खाली घरमा बस्दै आएका थिए । उद्धारका क्रममा केहीले आफ्ना घरपालुवा बिरालोसमेत साथमा ल्याएका थिए ।

ओलेश्कीबाट नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन शुक्रबार २५ वटा बस परिचालन गरिएको थियो । ती बसमा करिब ७५० जनालाई लैजान सकिने व्यवस्था थियो। उद्धारका लागि एम्बुलेन्ससमेत परिचालन गरिएको थियो ।

नागरिकलाई पहिले रुसको कब्जामा रहेको क्षेत्र हुँदै दक्षिणी रुस पुर्‍याइएको थियो । त्यहाँबाट विमानमार्फत बेलारुस लगेर अन्ततः बसबाट युक्रेनको उत्तरी सीमामा प्रवेश गराइएको थियो ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्नुअघि ओलेश्कीमा करिब २४ हजार मानिस बसोबास गर्थे । युद्धका कारण सहरमा ग्यास, विद्युत् र खानेपानीको अभाव हुनुका साथै आवतजावतका मार्गमा बारुदी सुरुङ र ड्रोन आक्रमणको जोखिम बढेको थियो ।

खर्सोन क्षेत्रमा मंगलबारदेखि लागू भएको मानवीय युद्धविरामले नागरिक उद्धार र राहत सामग्री पुर्‍याउने बाटो सहज बनाएको थियो । उक्त युद्धविराम नोभेम्बर १ आइतबारसम्म कायम रहने जनाइएको छ ।

यद्यपि, ओलेश्कीबाट उद्धारको अवसर पाए पनि केही सय नागरिकले भने सहर छाड्न अस्वीकार गरेका छन् । उनीहरूलाई आवश्यक मानवीय सहायता उपलब्ध गराइने अधिकारीहरूले बताएका छन् ।

ओलेश्कीमा युद्धविराम कायम रहे पनि युक्रेनका अन्य क्षेत्रमा भने युद्ध जारी छ । यसैबीच, युक्रेन, रुस र अमेरिकाका वार्ताकारहरू नोभेम्बरको सुरुवातमा अबुधाबीमा युद्धविरामसम्बन्धी छलफल पुनः सुरु गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्ना मन्त्रिपरिषद्का सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई सैन्य तालिममा सहभागी गराएका छन् । प्रधानमन्त्री अहमदले सैन्य अनुशासनले नेतृत्वलाई थप सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्ने भन्दै मन्त्रीहरूलाई सैन्य अभ्यासमा सहभागी गराएका हुन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा मन्त्री, उपमन्त्री तथा सरकारी निकायका प्रमुखहरूसँगै आफैँ पनि सैन्य अभ्यासमा सहभागी भएको देखिन्छ ...
: अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्ण परमाणु निःशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् । उत्तर कोरियाले भने आफू परमाणु हतियार सम्पन्न राष्ट्र भएको हैसियतबाट पछि नहट्ने अडान राख्दै आएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो, दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीबीच शुक्रबार अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा भएको जी-२० बैठकका ...
: रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने ...
: अमेरिकामा जारी मध्यावधि निर्वाचनको अन्तिम मतदान आगामी नोभेम्बर ३ मा हुँदैछ। राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचन भएकाले यसलाई मध्यावधि निर्वाचन भनिएको हो। कार्यकारी राष्ट्रपति रहने अमेरिकामा राष्ट्रपतिको दुई वर्षे कार्यकाललाई आमजनता र मतदाताले कसरी लिइरहेका छन् भन्ने लेखाजोखासमेत चुनावबाट हुने अपेक्षा गरिन्छ। मध्यावधि निर्वाचनमा अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४ सय ...
। अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि ...