: लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिने क्रममा कपिलवस्तुमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण खाजा पसलमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोली त्यहाँ पुगेको थियो।
प्रहरीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी नायब निरीक्षक सागर भट्टराईले बोकेको पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। प्रहरी नायब उपरीक्षक सिंहका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारू रहेका छन्।
उनीहरूको साथबाट २८ ग्राम ८२० मिलिग्राम शुद्ध तौलको ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ।
जिल्लामा लागूऔषध कारोबारी र सेवनकर्ताहरूको सञ्जाल तोड्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले बताए। ‘लागूऔषध नियन्त्रणको विषय प्रहरीका लागि गम्भीर विषय हो,’ प्रहरी उपरीक्षक भट्टले भने, ‘लागूऔषधको विषयमा शून्य सहनशीलता अपनाएर हामी अघि बढेका छौँ।’