: संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सरकारले पर्यटक भिसा आवेदन प्रक्रियालाई थप सहज र डिजिटल बनाउन नयाँ व्यवस्था ल्याउने भएको छ।
अब दुबई भ्रमण गर्न चाहने विदेशी नागरिकले ‘भिजिट दुबई’ को आधिकारिक वेबसाइटमार्फत सिंगल र मल्टिपल इन्ट्री पर्यटक भिसाका लागि आवेदन दिन सक्नेछन्।
दुबईका युवराज तथा दुबई कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले नयाँ सेवासम्बन्धी घोषणा गरेका हुन्। यो सेवा नोभेम्बर महिनाभित्र सञ्चालनमा ल्याउने तयारी छ।
नयाँ व्यवस्थाअनुसार पर्यटकले ३० र ६० दिन अवधिका सिंगल तथा मल्टिपल इन्ट्री भिसाका लागि आवेदन दिन सक्नेछन्। ३० दिनको सिंगल इन्ट्री भिसाको प्रारम्भिक शुल्क २०० दिरहम र ६० दिनको भिसाको शुल्क ३०० दिरहम तोकिएको छ। यसमा भ्याट तथा अन्य लागू हुने शुल्क अतिरिक्त लाग्न सक्छन्।
नयाँ प्रणालीमार्फत प्राप्त आवेदन सामान्यतया तीन कार्यदिनभित्र प्रदान गरिने जनाइएको छ। यद्यपि भिसा स्वीकृति तथा जारी गर्ने अन्तिम अधिकार दुबईको जनरल डाइरेक्टरेट अफ रेसिडेन्सी एन्ड फरेनर्स अफेयर्स ९जीडीआरएफए० सँगै रहनेछ।
यो व्यवस्थाले नेपालसहित विभिन्न देशबाट दुबई घुम्न आउने पर्यटकलाई भिसा आवेदन प्रक्रियामा सहजता ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी यूएईमा रहेका नेपालीका परिवार तथा आफन्तलाई नेपालबाट बोलाउने प्रक्रियासमेत थप सहज हुन सक्नेछ।
दुबईले पछिल्लो समय पर्यटन क्षेत्र विस्तारसँगै डिजिटल सरकारी सेवालाई प्राथमिकता दिँदै आएको छ। नयाँ व्यवस्थाले पर्यटकलाई एउटै डिजिटल प्लेटफर्मबाट भिसा आवेदन गर्ने सुविधा उपलब्ध गराउनेछ।
हालसम्म पर्यटक भिसाका लागि विभिन्न माध्यम तथा ट्राभल्स मार्फत आवेदन दिनुपर्ने व्यवस्था थियो।नेपालबाट बर्षेनी २ लाख पर्यटकहरु दुबई घुम्न जाने गरेको अनुमानित तथ्यांक छ ।