: चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतका सम्झौताहरू कार्यान्वयनको माग राख्दै इलाममा २५औँ आमरण अनसन (सत्याग्रह) मा बसेका वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चौथोै दिनमा निकै नाजुक बनेको छ। स्वास्थ्यमा गम्भीर र जीवन जोखिमपूर्ण जटिलताहरू देखिएपछि उनलाई शनिबार जिल्ला अस्पताल इलामको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
जिल्ला अस्पताल इलामका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमिताभ ठाकुरका अनुसार डा. केसीको शरीरमा ग्लोकुजकोे मात्रा निक्कै घटेको छ। उनका अनुसार आइतबार ग्लोकुजको मात्रा निक्कै तल झरेको छ । जसलाई चिकित्सा विज्ञानमा गम्भीर हाइपोग्लाइसेमिया भनिन्छ । अनसनका कारण लामो समयदेखि अन्नजल त्याग गर्दा शरीरले ऊर्जाका लागि बोसो पगाल्न थालेपछि उनको पिसाबमा ’एसिटोन’ को मात्रा अत्यधिक बढेको पाइएको छ।
यसैगरी, उनको मुटुको धडकनमा गडबडी देखिएको छ भने मुटुको गति प्रतिमिनेट ८० देखि १०८ पटकसम्म उतारचढाव भइरहेको छ। उनको रक्तचाप १००/६० एमएमएचजी र अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशतको बीचमा झरेको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले डा. केसीको स्वास्थ्य अवस्थाको गम्भिरतालाईमध्यनजर गर्दै थप पहलका लागि तथा आवश्यक स्वास्थ्य उपचारका लागि कोशी प्रदेश स्वास्थ्य मन्त्रालय, विराटनगरलाई पत्र पठाएको जनाएको छ। अस्पतालले डा. केसीको स्वास्थ्य अवस्था क्रमिक विग्रदै गएको जनाएको छ। सरकारलाई दिएको ७ दिने अल्टिमेटमलाई बेवास्ता गरिएपछि डा. केसीले इलामको नारायणस्थानमा यो अनसन सुरु गरेका हुन्। चिकित्सा शिक्षा क्षेत्रलाई व्यापारिक स्वार्थ र दलीय प्रभावबाट मुक्त राख्न उनले यसपटक ६ बुँदे माग अघि सारेका छन्।
डा. केसीले यसअघि वि.सं. २०७५ सालमा पनि इलाममै बसेर १६औँ अनसन बसेका थिए। त्यती बेला स्वास्थ्य स्थिति अत्यन्तै नाजुक भएपछि ९औँ दिनमा सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो। अहिले पुनः इलाममै सुरु भएको २५औँ अनसनले देशको स्वास्थ्य क्षेत्रमा तरंग पैदा गरेको छ । चिकित्सा क्षेत्र नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको हुनाले यसमा गुणस्तरहीनता र व्यापारिक स्वार्थ किमार्थ स्वीकार्य नहुने चेतावनी डा. केसीले दिएका छन् । सरकारले समयमै माग सम्बोधन नगरे उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने बनले बताएका छन्।