: अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार नौ जनाकै मृत्यु भएको छ। आइतबार दिउँसो अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडान भरेको 'लियरजेट ६०' विमान वेस्ट पाम बीच विमानस्थलबाट करिब चार माइल दक्षिणमा पर्ने मिलिटरी ट्रेल नजिकै दुर्घटनाग्रस्त भएको सीएनएनमा उल्लेख गरिएकाे छ।
नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको तथ्यांक अनुसार यो घटना चालु वर्ष अमेरिकामा भएको दोस्रो ठूलो र घातक हवाई दुर्घटना मानिएको छ।
एयर ट्राफिक कन्ट्रोलको रेकर्ड अनुसार, दुर्घटना हुनुभन्दा केही मिनेटअघि विमानका पाइलटले माइनस ४७ डिग्री सेल्सियसको अत्यधिक चिसोका कारण विमानमा बरफ जमेको र तीव्र मौसमी अशान्ति सामना गरिरहेको जानकारी गराएका थिए। त्यसलगत्तै पाइलटले 'मेडे' को आपत्कालीन सन्देश पठाउँदै विमान तीव्र गतिमा तल खसिरहेको र नियन्त्रणबाहिर गएको बताएका थिए।
उडान ट्र्याकिङ तथ्यांक अनुसार विमान अन्तिम समयमा प्रतिमिनेट २० हजार फिटभन्दा बढीको गतिमा खस्दै, केवल एक मिनेटको अवधिमा २७ हजार फिट तल झरेर जमिनमा पछारिएको थियो।
विमान बजारिएपछि सडकमा ठूलो खाल्डो बनेको छ भने वरपरका भौतिक संरचनामा क्षति पुगेको छ। दुर्घटनाका कारण जमिनमा मानवीय क्षति नभए पनि आसपासका मोबाइल होम पार्कको मुख्य प्रवेशद्वार छेकिएको र विद्युत् सेवा अवरुद्ध भएकाले स्थानीय करिब ६०० जना बासिन्दालाई सुरक्षित आश्रयस्थलमा सारिएको छ।
संघीय उड्डयन प्रशासन र नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छन्। दुर्घटनाका बखत सो क्षेत्रमा खराब मौसम र आँधीबेहरीको चेतावनी जारी गरिएकाले मौसमको प्रभावबारे पनि छानबिन भइरहेको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूको आधिकारिक पहिचान हालसम्म सार्वजनिक गरिएको छैन। अमेरिकाका यातायात मन्त्री सान डफीले यस घटनालाई 'भयानक त्रासदी' भन्दै गहिरो शोक व्यक्त गरेका छन्।