— कसिलो बलिङ गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजमाथि ५ विकेटको विजय हात पारेको छ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको चितवनलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले १२९/६ को स्कोरमा रोकेको थियो । जवाफमा सुदूरपश्चिमले १६.४ ओभरमै लक्ष्य पूरा गर्यो ।
खेलको सुरुआत सातौं स्थानमा रहेर गरेको सुदूरपश्चिम यस जितपछि तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले चौथो खेलमा दोस्रो विजय हात पारेको हो । चितवनको तेस्रो खेलमा यो पहिलो पराजय हो । टोली ३ अंकसहित चौथो स्थानमा छ ।
सुदूरपश्चिमका ओपनरद्वय सैफ जैब २ र विनोद भण्डारी ११ रनमा आउट भए । अघिल्लो खेलमा ड्रप गरिएका ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन बनाए । उनले क्रिजमा आउनेबित्तिकै रिजन ढकाललाई एकै ओभरमा ३ चौका र १ छक्का प्रहार गरे ।
तर रञ्जित कुमारले लगातार बलमा म्याकमुलन र कप्तान दीपेन्द्रसिंह ऐरीलाई आउट गरी चितवनलाई आशा देखाएका थिए । दीपेन्द्र पहिलो बलमै बोल्ड भए । इशान पाण्डे २९ बल खेली २ चौका प्रहार गरी २५ रनमा आउट भए ।
६ बल खेली समान १ चौका र १ छक्का प्रहार गरी १५ रनमा आउट भए ।
चितवनको कप्तानी सिकन्दर रजाले गरेका थिए । अघिल्लो खेलमा रवि बोपाराले चितवनको कप्तानी गरेका थिए । जिम्बावेबाट खेलिरहेका कारण रजा भने त्यो खेलमा थिएनन् । अघिल्ला दुई सिजन कप्तानी गरेका कुशल मल्ल सोमबारको खेलमा पनि प्लेइङ ११ मा रहेका छैनन् ।
रजाले २० बल खेली १ चौकासहित १५ रनमात्र बनाउन सके । उनलाई देब्रेहाते स्पिनर अनिल खरेलले आउट गरे । बोपाराले सर्वाधिक ४९ रन बनाए । सो क्रममा उनले सबै खाले ट्वान्टी–२० मा १० हजार रन पूरा गरेका थिए । बोपाराले ४० बलको इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे ।
सुदूरपश्चिमका स्कट कुग्लेनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी, दीपेन्द्र र अनिलले १–१ विकेट लिए ।