: लुक्ला विमानस्थलबाट सगरमाथा क्षेत्रको उडान (एभरेष्ट फ्लाइट) का लागि उडेका दुईवटा हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीन राजा बुढाथोकीले आज बिहान फिस्टल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको अन्नपूर्णलाई जानकारी दिए।
एयर डाइनेस्टीको '९एन-एओडी' (9N-AOD) कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसीले उडाएका थिए भने फिष्टेल एयरको '९एन-एजेआर' (9N-AJR) कलसाइन भएको हेलिकप्टर क्याप्टेन रविन प्रजापतिले उडाएका थिए।
प्राप्त जानकारी अनुसार, दुवै हेलिकप्टर लुक्लाबाट उडान भरेर फेरिचे भन्ने स्थानमा अवतरण (ल्यान्डिङ) गर्ने क्रममा अचानक सम्पर्कविहीन भएका थिए। त्यसलगत्तै ती दुवै हेलिकप्टर फेरिचे क्षेत्रमा आपसमा ठोक्किँएको बताइएको छ।
स्रोतका अनुसार दुर्घटनामा परेर एक जना विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको छ। फिस्टर एयरमा सवार २ यात्रुमध्ये भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक न्यूजिल्याण्डका नागरिक घाइते भएका हुन्।
घटनालगत्तै उद्धार कार्य अगाडि बढाइएको छ। दुर्घटनामा परेका अन्य सबै व्यक्तिहरूलाई तत्काल उद्धार गरी लुक्लास्थित अस्पताल ल्याइँदैछ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।