: आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउन्टडाउन सुरु भएको छ। प्रतियोगिता सुरु हुन एक महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमबार औपचारिक रूपमा काउन्टडाउन सुरु गरेको हो।
प्रतियोगिताको मिति नजिकिँदै जाँदा आयोजकले तयारीलाई तीव्रता दिएको सन्देश दिन काउन्टडाउन सुरु गरे पनि पूर्वाधार निर्माण, खेलस्थल व्यवस्थापन, खेल सामग्री खरिद र अन्य व्यवस्थापकीय काम समयमै सम्पन्न हुने चुनौती भने कायमै छ । प्रतियोगिता नजिकिदै गर्दा प्रदेश भित्रका बिभिन्न खेलका खेलाडीहरुको बन्दप्रशिक्षण समेत सुरुवात नगरेको भन्दै आलोचना पनि भईरहेको छ।
काउन्टडाउन कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रतियोगिता आयोजनाका क्रममा विभिन्न चुनौती देखिए पनि ती सबैको सामना गरेर प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिने बताए। उनले कर्णालीका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु गौरवको विषय भएको भन्दै सहआयोजक हुनुको नाताले प्रदेश सरकार यसलाई सफल बनाउन प्रतिबद्ध रहेको बताए।
संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिता आयोजनाका लागि भइरहेको तयारी निर्धारित समयभित्रै पूरा गर्नुपर्नेमा जोड दिए। प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन संघ, प्रदेश तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिता आयोजनाका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार खेल सामग्री खरिददेखि अन्य व्यवस्थापकीय कामसमेत अगाडि बढिरहेका छन्। बाँकी रहेका काम प्रतियोगिता सुरु हुनुअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए।
काउन्टडाउन सुरु भएसँगै प्रतियोगिताको तयारीलाई लिएर आयोजक पक्षमाथि समयको दबाब थपिएको छ। प्रतियोगिता सफल बनाउन खेलस्थलको व्यवस्थापन, खेल सामग्री खरिद, खेलाडीको तयारी, आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवा तथा अतिथि सत्कारलगायतका काम समयमै सम्पन्न गर्नुपर्नेछ। दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका लागि खेलकुदको प्रतिस्पर्धा मात्रै नभई प्रदेशको पहिचान, पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तार गर्ने अवसर समेत हो। प्रतियोगितामा देशभरका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा दर्शकको सहभागिताले कर्णालीको सामाजिक र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तर, प्रतियोगिता सुरु हुन ३० दिन मात्रै बाँकी रहँदा तयारीको वास्तविक अवस्था र सम्पन्न हुन बाँकी कामले प्रतियोगिता निर्धारित मितिमै सञ्चालन हुने विषयलाई चासोका साथ हेरिएको छ । काउन्टडाउनले दिन गन्ने काम मात्रै नगरी बाँकी तयारीलाई तीव्रता दिने दबाब र जिम्मेवारीसमेत आयोजकलाई दिएको ।
कर्णालीको प्रतिष्ठासँग जोडिएको दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन नीजि क्षेत्रले पनि चासो देखाएको छ। व्यवसायी पदमबहादुर शाहीले कर्णालीको गौरवका रुपमा हेरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नीजि क्षेत्रले पुरा सहयोग गर्ने बताए। ‘दशौँ राष्ट्रिय खेलकुद सरकारको मात्र नभई सिंगो कर्णालीको प्रतिष्ठाका रुपमा लिएका छौँ। यसलाई सफल बनाउन उद्योगी, व्यपारी, होटल व्यवसायी सबैले सहयोग गर्नेछौँ। हामी कर्णालीमा देशैभरीका खेलाडीहरु र खेलप्रेमीहरुलाई स्वागत गर्न आत्तुर छौँ,’उनले भने।