मुख्य समाचार
इन्डोनेसियाको डढेलोबाट फैलिएको विषाक्त धुवाँले छिमेकी मुलुक प्रभावित
इन्डोनेसियाको डढेलोबाट फैलिएको विषाक्त धुवाँले छिमेकी मुलुक प्रभावित

: इन्डोनेसियाका कालिमन्तान, पपुवा र सुमात्रा क्षेत्रमा लागेको डढेलोबाट निस्किएको विषाक्त धुवाँ छिमेकी देशसम्म फैलिँदा दक्षिणपूर्वी एसियाका विभिन्न मुलुक प्रभावित भएका छन् । सिंगापुर र मलेसियासम्म फैलिएको धुवाँका कारण पछिल्ला केही सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्या र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखिएका छन् ।

धुवाँको प्रभावले जनस्वास्थ्यमा समस्या बढेसँगै छिमेकी देशका सरकारमाथि आफ्ना नागरिकको असन्तुष्टि सम्बोधन गर्नुपर्ने दबाब परेको बिबिसिले जनाएको छ । तर, इन्डोनेसियासँगको कूटनीतिक सम्बन्ध बिग्रन सक्ने चिन्ताले उनीहरूलाई थप चुनौती सिर्जना गरेको छ ।

सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीका कानुनका सहप्राध्यापक युजिन टानका अनुसार धुवाँको समस्याबाट नागरिक आक्रोशित र चिन्तित छन्। सरकारले यसप्रति उचित प्रतिक्रिया नदिए बाह्य समस्या आन्तरिक राजनीतिक मुद्दा बन्न सक्ने उनको भनाइ छ ।

इन्डोनेसियामा डढेलो लाग्ने घटना हरेक वर्ष दोहोरिने गरेको छ । विशेषगरी पाम तेललगायत कृषि उत्पादनका लागि ठूलो क्षेत्रफलमा जमिन खाली गर्ने क्रममा आगलागी हुने गरेको बताइन्छ । यस वर्ष भने शक्तिशाली एल निनोका कारण खडेरी बढ्दा वन तथा पीटल्यान्डमा लागेको आगो नियन्त्रण गर्न कठिन भएको छ ।

यसअघि सिंगापुर र मलेसियामा केही दिनमै हट्ने गरेको धुवाँ यसपटक भने हप्तौँसम्म फैलिएको छ । मलेसियामा धुवाँको विरोध गर्दै स्थानीयले इन्डोनेसियाली उत्पादन बहिष्कार अभियानसमेत सुरु गरेका छन् । सांसद स्येद साद्दिकले डढेलोसँग सम्बन्धित कम्पनीमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै त्यस्ता कम्पनीलाई क्षेत्रीय रूपमा बहिष्कार गर्नुपर्ने बताएका छन् ।

सिंगापुरमा पनि सरकारको तयारीप्रति प्रश्न उठेको छ । एल निनोको प्रभाव गम्भीर हुने पूर्वानुमान र पूर्वचेतावनी हुँदाहुँदै पनि सरकारले धुवाँ नियन्त्रणका लागि पर्याप्त कदम नचालेको भन्दै आलोचना भएको छ ।

यसैबीच, सिंगापुर सरकारले टापुभरि सयौँ हेज सेल्टर स्थापना गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिलाई मास्क वितरण गरिएको छ । धुवाँसम्बन्धी कानुन थप कडा बनाउने तयारीसमेत भइरहेको छ। साथै, डढेलोसँग सम्भावित सम्बन्ध रहेका सिंगापुरमा दर्ता भएका १० कम्पनीमाथि अनुसन्धान भइरहेको छ ।

गत साता सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भेट गरेका थिए । भेटपछि दुवै देशले धुवाँको समस्या समाधान गर्न संयुक्त कार्यदल गठन गर्ने घोषणा गरेका छन् ।

यद्यपि, इन्डोनेसियाका एक वरिष्ठ अधिकारीले डढेलो मानव नियन्त्रणभन्दा बाहिर रहेको टिप्पणी गर्दै सिंगापुर र मलेसियामा पाइने अक्सिजन पनि इन्डोनेसियाका वनबाट आउने बताएका थिए। उक्त अभिव्यक्तिको सिंगापुरका वरिष्ठ मन्त्री के सानमुगमले आलोचना गरेका छन् ।

यसैबीच, इन्डोनेसियाले घरेलु ऊर्जा आवश्यकता देखाउँदै सिंगापुरमा ग्यास निर्यात घटाउने घोषणा गरेको छ । उक्त निर्णयलाई केहीले सिंगापुरको आलोचनाप्रति इन्डोनेसियाको प्रतिक्रियाका रूपमा व्याख्या गरेका छन् । तर सिंगापुरका अनुसार घटाइएको ग्यासको परिमाण उसको दैनिक कुल मागको दुई प्रतिशतभन्दा कम भएकाले आपूर्तिमा ठूलो प्रभाव पर्ने छैन ।

धुवाँको समस्या समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक देखिए पनि जनस्वास्थ्य, आर्थिक हित र कूटनीतिक सम्बन्धबीच सन्तुलन कायम गर्नु दुवै देशका लागि चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् भने केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार सोमबार कोमिशुभाखा गाउँस्थित मानवीय सहायता वितरण केन्द्रमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम प्रहार गरिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर ...
: युरोपका सात देशका दर्जनौँ सुपरमार्केटमा साइबर आक्रमण हुँदा फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । आक्रमणका कारण खाद्य सामग्री बिग्रिएपछि ठूलो परिमाणमा खाद्यान्न फाल्नुपर्ने अवस्था सिर्जना भएको छ । बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका सुपरमार्केटहरू साइबर आक्रमणबाट प्रभावित भएको बिबिसिमा उल्लेख छ । । बेल्जियम र लक्जेम्बर्गका डेलहाइजका करिब ४० वटा सुपरमार्केटमा ...
: अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनका अनुसार इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुनेछ । इरानले सद्भावनाको सङ्केतस्वरूप ...
: माइनर र नेट स्वान्सनको अंग्रेजी म्यागाजिन फरेन अफेयर्समा इरानसँगको युद्ध अन्त्य गर्न खाडी मुलुकहरूले मध्यस्थता गर्न सक्छन् भन्ने प्रकाशित तर्क गम्भीर विचारणीय छ। खाडी मुलुकहरूसँग आर्थिक प्रभाव, कूटनीतिक सम्बन्ध र तत्कालीन क्षेत्रीय सुरक्षा चासो छन्, जसले युद्धरत पक्षहरूलाई वार्ताको टेबलमा ल्याउन सक्छन्। तर, यो प्रस्ताव एउटा महत्वपूर्ण मान्यतामा आधारित छ– वासिङ्टन वास्तवमै युद्ध अन्त्य गर्न ...
: अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार नौ जनाकै मृत्यु भएको छ। आइतबार दिउँसो अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडान भरेको 'लियरजेट ६०' विमान वेस्ट पाम बीच विमानस्थलबाट करिब चार माइल दक्षिणमा पर्ने मिलिटरी ट्रेल नजिकै दुर्घटनाग्रस्त भएको सीएनएनमा उल्लेख गरिएकाे छ। नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको तथ्यांक अनुसार यो घटना ...