: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मूल्याङ्कन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन्। उनले नेपालको सन्दर्भमा भइरहेको विकासको केन्द्रीकरणलाई विकेन्द्रीकृत गर्ने गरी सार्वजनिक लगानी केन्द्रित हुनुपर्नेमा जोड दिए।
सरकारले निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेका क्षेत्रमा पूर्वाधार तथा अन्य आवश्यक सुविधा उपलब्ध गराई लगानीको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ। उनले एउटै नदीमा आधारित धेरै हाइड्रोपावर हुँदा बाढी वा विपद् आउँदा त्यसको क्षति अत्यधिक हुन सक्ने देखिएकाले त्यस्ता अवस्थाप्रति पनि सजग हुनुपर्ने बताए।