मुख्य समाचार
विपद्पछि प्रभावित महिला, बालबालिका, किशोरी तथा अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कार्ययोजना कार्यान्वयन
विपद्पछि प्रभावित महिला, बालबालिका, किशोरी तथा अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कार्ययोजना कार्यान्वयन

। भोटेकोशी तथा कालीगण्डकी करिडोरमा गएको विपद्पछि प्रभावित महिला, बालबालिका, किशोरी तथा अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कार्ययोजना कार्यान्वयन गरिरहेको जनाएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विपद्पछिको तत्कालीन उद्धार, संरक्षण तथा पुन:स्थापनाका लागि विभिन्न कार्यसमूह परिचालन गरी कार्ययोजना कार्यान्वयन भइरहेको जानकारी दिएका हुन् ।


मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले विपद्को तिब्रता, प्रभावित समुदायमा परेको असर र तत्काल आवश्यक प्रतिक्रियाका आधारमा कार्ययोजना तयार गरिएको बताए ।

उनका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै क्लस्टरको समन्वय तथा सूचना संकलनको जिम्मेवारी लिएको थियो । खोज तथा उद्धारसम्बन्धी क्लस्टरको नेतृत्व गृह मन्त्रालयले गरेको थियो । मन्त्रालयका प्रतिनिधिहरूले नियमित रूपमा समन्वय बैठकमा सहभागी भएर आवश्यक निर्णय तथा कार्यान्वयनमा सहयोग गरेका थिए ।


सचिव राउतले भदौ ११ गते तीन महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत प्रतिक्रिया कार्ययोजना स्वीकृत गरिएको जानकारी दिए । उक्त योजनामा बाल संरक्षण, लैङ्गिक हिंसा रोकथाम तथा मनोसामाजिक सहयोगका कार्यक्रम समेटिएका छन् । कार्ययोजनाअन्तर्गत बाल संरक्षणका नौ, लैङ्गिक हिंसासम्बन्धी २० र मनोसामाजिक सहयोगका १३ वटा क्रियाकलाप तय गरिएको उनले बताए । बाल संरक्षणअन्तर्गत बालबालिकाको आवश्यकता पहिचान, बालमैत्री स्थान निर्माण, बेबी प्याक वितरण तथा अन्य सहयोगका कार्यक्रम राखिएका छन् ।

त्यस्तै, अस्थायी होल्डिङ सेन्टर तथा आश्रयस्थल व्यवस्थापनका लागि क्याम्प कोअर्डिनेसन एन्ड सेल्टर क्लस्टर र पुन:स्थापनाका कार्यक्रम अघि बढाउन प्रारम्भिक पुनर्लाभ (अर्ली रिकभरी) क्लस्टर परिचालन गरिएको उहाँले जानकारी दिए ।

विपद्का कारण बाबुआमा दुवै गुमाएका, अभिभावकबाट छुट्टिएका वा एक अभिभावक गुमाएका बालबालिकाको पहिचान गरी कानूनी व्यवस्थाअनुसार संरक्षणको काम अघि बढाइएको सचिव राउतको भनाइ छ । यसका लागि स्थानीय बाल कल्याण अधिकारी, स्थानीय बाल अधिकार समिति र राष्ट्रिय बाल अधिकार परिषद्बीच समन्वय गरिएको उनले बताए ।

विपद्का बेला महिला तथा किशोरी बेचबिखन र अन्य हिंसाका घटना हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीसँगको समन्वयमा विशेष निगरानीसमेत बढाइएको उनले जानकारी दिए । प्रभावित क्षेत्रमा १५ स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरी चेकपोइन्ट स्थापना गरिएको थियो । विभिन्न स्थानीय भाषामा जनचेतनामूलक सामग्री उत्पादन गरी स्थानीय रेडियो एफएममार्फत प्रसारण गरिएको पनि उनले बताए ।

सचिव राउतकाअनुसार प्रोटेक्सन क्लस्टरले भदौ १० यता सातवटा बैठक सम्पन्न गरिसकेको छ । विपद् प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले गरेका कामको विवरण एकीकृत गर्न प्राधिकरणले विकास गरेको रिपोर्टिङ प्रणालीमार्फत सबै संस्थालाई आफ्ना गतिविधि नियमित अद्यावधिक गर्न भनिएको थियो । यसबाट एउटै क्षेत्रमा दोहोरो सहयोग हुन नदिन र वास्तविक आवश्यकता भएका समुदायसम्म सेवा पुर्‍याउन सहयोग पुगेको उनको भनाइ छ ।

महिला तथा किशोरीको सुरक्षित बसोबास र संरक्षणका लागि प्रभावित क्षेत्रमा १० वटा महिला मैत्री स्थान (वुमन फ्रेन्ड्ली स्पेस) स्थापना गरिएको थियो । ती स्थानबाट २ हजार ९१० जना महिला र ७५७ जना किशोरीले सेवा लिएको मन्त्रालयको तथ्याङ्क रहेको सचिव राउतले जानकारी दिए ।

त्यस्ता स्थानबाट गर्भवती महिला, स्तनपान गराइरहेका आमा तथा अपाङ्गता भएका व्यक्तिहरूले समेत सेवा लिएका थिए । प्रभावित महिला तथा किशोरीको तत्कालीन संरक्षण र व्यक्तिगत सरसफाइका लागि डिग्निटी किट, किशोरी किट तथा शिशु र साना बालबालिकाका लागि बेबी प्याक वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जनाको नाम सर्टलिस्टमा राख्दै कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा बोलाएको छ । अर्थ मन्त्रालयका अनुसार कोषको सीईओ पदमा एक दर्जन आवेदन परेको थियो । जसमध्ये ७ जनाको नाम अस्वीकृत भएको छ । तोकिए अनुसार कागजात प्राप्त नभएका आवेदकको नाम अस्वीकृत भएको मन्त्रालयले जनाएको छ ...
। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पर्यावरण क्षेत्र सुधार र मल व्यवस्थापन गर्न आधुनिक तथा जैविक मललाई ‘आवश्यक पदार्थ’ को सूचीमा समावेश गर्दै नयाँ मल नियन्त्रण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई ...
। नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । ‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रहरीले जानकारी ...
। त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीद्वारा हस्ताक्षर गरिएको सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायद्धारा जारी प्रमाणपत्रहरु हुलाक सेवा कार्फत विद्यार्थीको फोन नं. सहितको पूर्ण ...
। अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ । केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीहरूको काम रोकिन पुगेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य ...