अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुस–युक्रेन युद्ध अन्त्यका लागि अर्को साता यूएईको राजधानी आबु धाबीमा शान्ति वार्ता हुने दाबी गरेका छन् । समाचार अनुसार आगामी नोभेम्बर १० र ११ मा त्रिपक्षीय शान्ति वार्ता हुने भएको छ ।
गत फेब्रुअरीमा इरानसँगको युद्ध चर्किएपछि स्थगित भएको कूटनीतिक प्रयासलाई पुन: सुरु गर्ने क्रममा यो महत्त्वपूर्ण बैठक तय भएको हो ।
ट्रम्पका विशेष दूत स्टेभ भिटकफ र वरिष्ठ सल्लाहकार जारेड कुसनरले हालै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेका शृङ्खलाबद्ध उच्चस्तरीय छलफलपछि यो सहमति जुटेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
मुख्य एजेन्डा र अमेरिकी नेतृत्व
ह्वाइट हाउसका विशेष दूत स्टेभ भिटकफ र जारेड कुसनरले आबु धाबी वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
भिटकफका अनुसार यस त्रिपक्षीय वार्तामा ’युद्धपछिको सुरक्षा व्यवस्था (पोस्ट–वार सेक्युरिटी अरेन्जमेन्ट्स), तनाव कम गर्ने उपाय (डी–एस्कलेसन), मानवीय सहायता र शान्तिका लागि आगामी कदमहरू’ मा ध्यान केन्द्रित गरिनेछ ।
आबु धाबी बैठकअघि अमेरिकी तल्लो तहका अधिकारीहरूले यसै साता ब्रसेल्समा फ्रान्स, जर्मनी, युके, युरोपेली युनियन र नाटोका प्रतिनिधिहरूसँग छलफल गर्दैछन् । उक्त बैठकमा युक्रेनका लागि सुरक्षा ग्यारेन्टी र युरोपको युद्धपछिको सुरक्षा संरचनाबारे खाका तयार पारिनेछ ।
भिटकफले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हामी किभ, ओस्लो र सेन्ट पिटर्सबर्गमा भएका प्रगतिहरूलाई आधार मान्दै भावी पुस्ताका लागि दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने एक व्यापक र दिगो शान्ति सम्झौतातर्फ अगाडि बढ्न उत्सुक छौं ।’
ट्रम्पको ‘डिजेल सहुलियत’ र पुटिनको लचिलोपनमाथि आशङ्का
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी डिजेल बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेपछि र मस्कोलाई अनुकूल हुने केही कदम चालेपछि ह्वाइट हाउसले पुटिन शान्ति सम्झौताका लागि बढी लचिलो हुने अपेक्षा राखेको छ ।
यद्यपि, विश्लेषकहरू र अधिकारीहरूले वार्तामा ठूलो प्रगति हुनेमा आशङ्का व्यक्त गरेका छन् । युक्रेनी भू–भाग र कब्जा गरिएका क्षेत्रहरूबारे दुवै पक्षबिच ठूलो मतभिन्नता कायमै छ । राष्ट्रपति पुटिनले युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै युक्रेनी सहरहरूमा आक्रमण जारी राखेका छन् ।
ठूलो आक्रमणको युक्रेनी चेतावनी
यसैबिच, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले सोमबार गम्भीर चेतावनी दिएका छन्। युक्रेनी गुप्तचर निकायको प्रतिवेदन उद्धृत गर्दै जेलेन्स्कीले रुसले मङ्गलबार युक्रेनका ऊर्जा तथा लजिस्टिक पूर्वाधारहरूमा अर्को विशाल हवाई हमला गर्ने तयारी गरिरहेको बताएका छन् ।
जेलेन्स्कीका अनुसार रुसले नियतवश अमेरिकामा मध्यावधि निर्वाचन भइरहेको र ’विश्वको ध्यान अमेरिकी चुनावतर्फ केन्द्रित भएको मौका पारेर’ यो ठूलो आक्रमण गर्न खोजेको छ ।
एकातिर वासिङ्टनको मध्यस्थतामा आबु धाबीमा वार्ताको मिति तय हुनु र अर्कोतिर चुनावी माहोलकै बिच रुसी आक्रमणको त्रास बढ्नुले आगामी हप्ताको कूटनीतिक यात्रालाई थप पेचिलो बनाएको छ ।