। चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।
आयोगका अनुसार अहिले थप प्रश्नपत्र बनाएर परीक्षा सुरू गरिएको छ । आयोगका सदस्य सचिव हरि निरौलाले प्राविधिक त्रुटिका कारण परीक्षा केही समयका लागि रोकिएको बताए ।
अप्टोमेट्रिस्टका ६ वटा परीक्षा केन्द्र तोकिएको थियो ।
निरौलाका अनुसार परीक्षा सञ्चालन भइरहेका बेला प्रश्नपत्र अपुग भएको जानकारी आएपछि आयोगले सम्बन्धित केन्द्रमा परीक्षा केही समयका लागि रोक्न लगाएको थियो । त्यसपछि तत्कालै प्राविधिक टोली परिचालन गरेर आवश्यक प्रश्नपत्रको व्यवस्था मिलाइएको र परीक्षा पुनः सुरु गरिएको उनको भनाइ छ ।
‘काम गर्ने क्रममा कहिलेकाहीँ यस्ता प्राविधिक त्रुटि हुन सक्छन्। प्रश्नपत्र अलिकति नपुग भएपछि केही समय परीक्षा होल्ड गरेका थियौँ। त्यसपछि प्रश्नपत्र पठाएर पुनः सञ्चालन गरेका छौँ,’ निरौलाले भने ।
निरौलाले अप्टोमेट्रिस्टको विषयको परीक्षामा करिब १५ सय परीक्षार्थी सहभागी भएको बताए ।