: भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने कार्यसूची छ।
मिस्रीले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत र नेपालबीच बलियो तथा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्रालयले विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यमा उल्लेखनीय प्रगति भएको जनाएको छ। मिस्रीको आसन्न भ्रमणले दुई देशबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र समग्र द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन्। यसबारेमा औपचारिक जानकारी नदिइए पनि दुवै पक्षले आन्तरिक तयारी गरिरहेको स्रोतले बताएको छ। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले भ्रमणको तयारी गरिरहेको छ। प्रधानमन्त्रीसँग भेटवार्तापश्चात द्विपक्षीय सहमतिका आधारमा भ्रमणको मिति तोकिने परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णलाई बताए।