: अमेरिकी खर्बपति एलन मस्कले यस वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डाेनाल्ड ट्रम्पकोरिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन इतिहासकै सबैभन्दा ठूलो रकम खर्च गरेका छन्। तर, उनको यो आर्थिक लगानी विफल बनेको छ।
'द न्यूयोर्क टाइम्स' र संघीय निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मस्कले यस निर्वाचनमा ४७४ मिलियन अमेरिकी डलर (लगभग आधा अर्ब डलर) सहयोग गरेका छन्। अमेरिकी इतिहासमा कुनै पनि व्यक्तिले एउटै निर्वाचनमा खर्च गरेको यो अहिलेसम्मकै उच्च रेकर्ड हो।
मस्कले यो सहयाेग आफ्नो मुख्य राजनीतिक संगठन 'अमेरिका प्याक' र सिनेटका रिपब्लिकन उम्मेदवारहरूलाई सहयोग गर्ने 'सिनेट लिडरसिप फन्ड' मार्फत परिचालन गरेका थिए।
विशेष गरी टेक्सास राज्यमा मात्रै मस्कले करिब २२४ मिलियन डलर खर्च गरेका थिए, जसको ठूलो हिस्सा रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको सिनेट अभियानमा प्रत्यक्ष रूपमा दिइएको थियो। निर्वाचन आयोगका अनुसार अक्टोबर १४ सम्मको यो तथ्यांकमा चुनावका अन्तिम तीन हप्ताको खर्च भने समावेश गरिएको छैन।
ठूलो आर्थिक लगानीमा पनि रिपब्लिकन असफल
यस वर्षको अमेरिकी मध्यावधि चुनावमा कुल १२ अर्ब डलरभन्दा बढी खर्च भई नयाँ कीर्तिमान कायम भएको छ। तर, मस्कले गरेको यो ठूलो आर्थिक लगानीका बाबजुद पनि धेरैजसो सीटहरूमा रिपब्लिकन उम्मेदवारहरूले सफलता हासिल गर्न सकेनन्।
मस्कले सबैभन्दा बढी रकम खर्चेका मुख्य राज्यहरूमा समेत रिपब्लिकन उम्मेदवारहरू पराजित भएपछि, उनको यो ठूलो राजनीतिक लगानी सोचेजस्तो प्रभावकारी बन्न नसकेको र एक किसिमले विफल भएकाे छ।
मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा ५ करोडभन्दा बढी नागरिकहरुले मतदान गरेका थिए । जसमध्ये तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कूल १ सयमध्ये ३५ सिटका लागि निर्वाचन भएको हो। प्रारम्भिक नतिजाअनुसार विपक्षी डेमोक्र्याटिक पार्टीले २२८ सिटमा अग्रता लिएको देखाएको छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले १३९ सिटमा अग्रता लिएको छ।
यसैगरी सिनेटको अहिलेसम्म ३३ सिटको नतिजा घोषणा भइसकेको छ। यीमध्ये डेमोक्र्याटिक पार्टीले २० र रिपब्लिकन पार्टीले १३ सिट जितेको छ। बाँकी २ सिटको मतगणना जारी छ। यस्तै गभर्नर पदका लागि भएको चुनावको नतिजा पनि सार्वजनिक भएको छ। जसमध्ये ३१ राज्यको नतिजा घोषणा गरिएको छ। जसमा ३६ सिटमा प्रतिस्पर्धा भएको छ। २० डेमोक्र्याट र ११ रिपब्लिकनले जितेका छन्। ५ राज्यहरूमा मतगणना जारी छ।
अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले राष्ट्रपति ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीलाई ठूलो धक्का दिएको छ। जितका लागि रिपब्लिकन पार्टी विपक्षी डेमोक्र्याटिक पार्टीभन्दा निकै पछाडि परेको छ। विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदन (प्रतिनिधि सभा र सिनेट) मा स्पष्ट बहुमत हासिल गर्दै ऐतिहासिक जित दर्ता गरेपछि अमेरिकी राजनीतिमा ठूलो हलचल मच्चिएको छ।