। इरानी संसद्का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा ‘नाईँ’ भनेका छन्। हामी उनीहरूको यो सन्देशको समर्थन गर्छौँ।’
उनले अगाडि लेखेका छन्, ‘यदि अमेरिकी सरकार अन्तर्राष्ट्रिय मालिकहरू र ब्ल्याकमेल गर्नेहरूको दबाबमा परेर आफ्ना जनताको इच्छाविपरीत जान्छ भने उसले हाम्रो ‘नाईँ’ को गम्भीर परिणाम भोग्नुपर्नेछ।’
अमेरिकामा ३ नोभेम्बरमा मध्यावधि चुनाव सम्पन्न भएको थियो। सो चुनावमा हाउस अफ रिप्रिजेनटेटिभ्सका सबै ४३५ सिट र सेनेटका १०० मध्ये ३५ सिटमा मतदान भएको थियो। यसबाहेक ३६ राज्यमा गभर्नर पदका लागि पनि चुनाव भएको थियो।
यी चुनावी नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कडा चुनौतीको सामना गरिरहेको छ। प्रारम्भिक नतिजामा विपक्षी डेमोक्रेटिक पार्टी हाउस अफ रिप्रिजेनटेटिभ्समा बहुमत हासिल गर्नेतर्फ अघि बढेको देखिएको छ।
चुनावी नतिजा सार्वजनिक भइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका छन्। उनले मध्यावधि चुनावको नतिजालाई पूर्ण रूपमा स्वीकार गर्न आफू तयार रहेको बताएका छन्। उनले विपक्षी पार्टीसँग मिलेर काम गर्ने कुरा पनि व्यक्त गरेका छन्।