। काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।
महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहोर बाल्ने कार्य उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण हुन् ।
जाडोयाममा चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने हुँदा प्रदूषणको स्तर थप बढ्ने गर्दछ । यस प्रकारको खराब वायुले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी तथा श्वासप्रश्वासका बिरामी र दीर्घरोगीलाई बढी जोखिममा पार्ने महानगरले जनाएको छ ।
वायु प्रदूषण न्यूनीकरणका लागि महानगरले सम्पूर्ण नगरवासीलाई विभिन्न नियम कडाइसाथ पालना गर्न अनुरोध गरेको छ । जसअन्तर्गत सवारीसाधनलाई प्रचलित प्रदूषण मापदण्डभित्र राखेर चलाउन र नियमित मर्मतसम्भार गरी धुवाँ उत्सर्जन कम गर्न आग्रह गरिएको छ ।
त्यसैगरी निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्न र ढुवानी तथा लोड–अनलोड गर्दा धुवाँधुलो ननिस्कने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
महानगरले प्लास्टिकजन्य तथा अन्य फोहोरमैला खुला जलाउन पूर्णरूपमा प्रतिबन्ध लगाउँदै, यस्तो कार्य गरे वा मापदण्ड विपरीत धुवाँ फाल्ने सवारीसाधन चलाए कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिएको छ ।
यसैगरी महानगरभित्र सञ्चालित उद्योग, कलकारखाना र अस्पतालहरूलाई ‘काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ ले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्डभित्र रहेरमात्र काम गर्न र प्रदूषण कम गर्ने उपकरण अनिवार्य प्रयोग गर्न भनिएको छ ।
सर्वसाधारणलाई घर बाहिर निस्कँदा वा हिँडडुल गर्दा व्यक्तिगत सुरक्षाका लागि अनिवार्य रूपमा मास्क प्रयोग गर्न महानगरले सुझाएको छ ।
वायु गुणस्तरसम्बन्धी अद्यावधिक जानकारी लिन चाहनेले महानगरपालिका र सरकारको आधिकारिक वेबसाइट मार्फत जानकारी प्राप्त गर्न सक्ने पनि सूचनामा उल्लेख छ ।