मुख्य समाचार
अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई भन्सार शुल्कमा राहत खोजिरहेका क्यानडेली नागरिकले ‘विजय’ का रूपमा लिए
अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई भन्सार शुल्कमा राहत खोजिरहेका क्यानडेली नागरिकले ‘विजय’ का रूपमा लिए

: अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई भन्सार शुल्कमा राहत खोजिरहेका क्यानडेली नागरिकले ‘विजय’ का रूपमा लिएका छन् । अमेरिकी मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिप्रति असन्तुष्टि देखाउँदै डेमोक्र्याटलाई जिताएपछि क्यानडाले अमेरिकासँगको व्यापार वार्तामा अनुकूल वातावरण बन्ने अपेक्षा गरेको छ ।

क्यानडाको ओन्टारियो प्रान्तका मुख्यमन्त्री डग फोर्डले निर्वाचन परिणामलाई ‘क्यानडाको विजय’ भन्दै खुसी व्यक्त गरेका छन् । उनले ट्रम्प प्रशासनले लगाएको भन्सार शुल्कप्रति अमेरिकी जनताले असन्तुष्टि जनाएको बताएका छन् ।

अमेरिकी मतदाताका लागि बढ्दो महँगी प्रमुख चुनावी मुद्दा बनेको थियो। सेप्टेम्बरमा गरिएको एक सर्वेक्षणअनुसार करिब ७५ प्रतिशत अमेरिकीले भन्सार शुल्कका कारण वस्तु तथा सेवाको मूल्य बढेको बताएका थिए ।




मेन र मिसिगनजस्ता राज्यमा पनि भन्सार शुल्क चुनावी प्रतिस्पर्धाको महत्त्वपूर्ण मुद्दा बनेको थियो । क्यानडासँगको व्यापारमा निर्भर अमेरिकी अटोमोबाइल उद्योगमा शुल्कको प्रभाव परेको छ । ट्रम्प प्रशासनले अमेरिकाबाहिर बनेका कार तथा ट्रकमा लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण ओन्टारियोमा रोजगारी कटौती भएको छ भने मिसिगनका उपभोक्ताको खर्चसमेत बढेको छ ।

रिपब्लिकन उम्मेदवारहरूले समेत ट्रम्पको शुल्क नीतिबाट आफूलाई अलग देखाउने प्रयास गरेका थिए । तर डेमोक्र्याट उम्मेदवारहरूले भने उक्त नीतिको खुलेर आलोचना गरेका थिए ।

यद्यपि, अमेरिकी संसद्मा डेमोक्र्याटको प्रभाव बढ्दैमा तत्काल भन्सार शुल्क हट्ने निश्चित छैन । ट्रम्पले अधिकांश शुल्क संसद्को स्वीकृतिबिनै कार्यकारी आदेशमार्फत लागू गरेका हुन् । उनले संसद्बाट पारित हुने आफूलाई मन नपर्ने विधेयक रोक्न राष्ट्रपतिको भिटो अधिकार प्रयोग गर्न सक्ने चेतावनीसमेत दिएका छन् ।

हाल अमेरिका र क्यानडाबीच अटोमोबाइल, स्टिल, आल्मुनियम तथा वनजन्य उत्पादनलगायत क्षेत्रमा विभिन्न तहका भन्सार शुल्क लागू छन् । व्यापार वार्ता विफल भएपछि ट्रम्प प्रशासनले क्यानडाका विभिन्न वस्तुमा थप ५० प्रतिशत शुल्क लगाएको थियो । जवाफमा क्यानडाले पनि अमेरिकी वस्तुमा प्रतिशोधात्मक शुल्क लगाएको छ ।

निर्वाचनअघि नै ट्रम्पले क्यानडासँगको व्यापार सम्झौता नजिक पुगेको बताएका थिए । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि पछिल्लो वार्तामा अमेरिकी पक्षले कम माग राख्न र बढी प्रस्ताव गर्न थालेको बताएका छन् ।

पूर्वकूटनीतिज्ञ कोलिन रोबर्टसनका अनुसार निर्वाचनमा पराजय भोगेपछि ट्रम्पमाथि क्यानडासँग व्यापार सम्झौता गर्न थप दबाब पर्न सक्छ । उनका अनुसार नयाँ अमेरिकी सांसदहरू आगामी जनवरीमा कार्यभार सम्हाल्नुअघि नै सम्झौता टुंग्याउने क्यानडाका लागि उपयुक्त अवसर छ ।

तर क्यानडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङले भने मध्यावधि निर्वाचनको परिणामले तत्काल कुनै परिवर्तन नल्याउने बताएका छन् ।

यसबीच क्यानडाले अमेरिकासँगको व्यापार वार्ता सफल बनाउन प्रयास जारी राखेको छ । प्रधानमन्त्री कार्नीले आवश्यक परे नयाँ अमेरिकी राष्ट्रपति निर्वाचित नभएसम्म पनि सम्झौताका लागि प्रतीक्षा गर्न तयार रहेको बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहहरूले विरोध गरेपछि अदालतले यस्तो आदेश दिएको हो । न्युयोर्कस्थित जिल्ला अदालतकी न्यायाधीश भ्यालेरी क्याप्रोनीले यस साता कुनै पनि अफगानी नागरिकलाई अफगानिस्तान वा ...
। इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको जनाएको छ । समितिका अनुसार घोषित परिणामले मतदाताको इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको छ । यसैबीच, राष्ट्रपति आइज्याक हर्जोगले बुधबार निर्वाचनको आधिकारिक परिणाम प्राप्त ...
: युक्रेनले रुसी सेनाको दोहोरो हवाई बम आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको घटनासम्बन्धी प्रहरीको बडीक्याम भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा मानवीय सहायता वितरण केन्द्र र भूमिगत आश्रयस्थललाई निशाना बनाइएको युक्रेनको दाबी छ । युक्रेनको राष्ट्रिय प्रहरीले बुधबार सार्वजनिक गरेको भिडियोमा पहिलो बम विस्फोटपछि दक्षिणी गाउँ कामिशुभाखाका स्थानीय बासिन्दा भूमिगत आश्रयस्थलतर्फ गएको देखिन्छ । त्यसको ...
: इजरायलमा आमनिर्वाचनपछि कुनै पनि राजनीतिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनको आधिकारिक नतिजा प्राप्त गरेपछि राष्ट्रपति हर्जोगले बुधबार साँझदेखि दलका नेताहरूसँग छलफल अघि बढाएका हुन् । उनले अर्को निर्वाचन हुन नदिन दलहरूलाई आफ्ना सबै प्रतिबद्धता ...
। इरानी संसद्‌का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा ‘नाईँ’ भनेका छन्। हामी उनीहरूको यो सन्देशको समर्थन गर्छौँ।’ उनले अगाडि लेखेका छन्, ‘यदि अमेरिकी सरकार अन्तर्राष्ट्रिय मालिकहरू र ब्ल्याकमेल गर्नेहरूको दबाबमा परेर आफ्ना जनताको इच्छाविपरीत जान्छ ...