: आउँदै गरेको दीपावली पर्वका लागि काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा फूल तथा माला बिक्रीका लागि स्थान तोकिएको छ।
महानगरले प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरणमा रोक गर्नुका साथै स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको छ। यदि उल्लंघन गरेको पाइएकोमा सामान जफत गर्ने सूचनाले जानकारी गरेको छ। नेपाली किसानहरूले उत्पादन गरेको फूल, मालाहरू सरोकारवाला निकायहरूसँगको समन्वयमा महानगर प्रहरी बलले बिक्री वितरणका लागि ३३ वटा स्थानहरू तोकिएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर, शंखमूलको बिग मार्ट, नयाँबानेश्वरको आई प्लेक्स मल, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स, तीनकुनेको तीनकुने चौर, सिफलको सिफल चौर, चाबहिलको एसी कम्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि रहेको छ।
यसैगरी धर्मचक्र पार्क, कालीमाटी बैंक्युट, द्यौखेल, कलंकीको भाटभटेनी, नयाँबजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्धमहल र गुणस्तर खाल्डो, हाँडीगाउँको ५ वडा अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुसी २६ वडाको कोइराला स्माट, महाराजगन्जको सेल्सबेरी, गोंगबु, चप्पल कारखाना र बालुवाटारमा रहेको बिगमार्ट छ।
साथै कमलादीको आईटी भवन, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, टेबहाल मन्दिर परिसर, सुन्धाराको काठमाडौं मल, न्यु प्लाजा बज्र कम्प्लेक्सको गुड मार्ट, लगन, जैशीदेवल र भृकुटीमण्डपमा स्थान तोकिएको छ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गत तीन वर्षदेखि काठमाडौं नगरमा व्यवस्थित रूपमा व्यवसाय गर्न र फूल तथा माला खरिद गर्न सहज हुने उद्देश्य लिई विभिन्न स्थान तोकिएको हो। उनले भने, ‘पहिले एकै ठाउँमा बेच्ने भएकाले फूल व्यापारीलाई बेच्न पनि गाह्रो हुने र उपभोक्ता पनि हतारमा हुने कारणले, ठाउँठाउँमा बेच्यो भने व्यापारी र उपभोक्ता दुवैलाई सहज हुन्छ भनेर यसरी स्थान तोकिएको हो।’ प्रवक्ता मानन्धरले स्वदेशी फूललाई प्राथमिकता दिनका लागि बाहिरबाट आउने फूललाई नेपाली प्रहरीले रोक्ने काम गरेको हुनाले काठमाडौँमा आएको जति सबै स्वदेशी रहने बताए। अनि उक्त स्थानहरूमा आइतबारदेखि नै व्यवसायी गर्न सकिने बताए।
यसैगरी महानगरका वातावरण व्यवस्थापन विभागले पनि छुट्टै सूचना जारी गर्दै प्लास्टिकका फूलगुच्छा तथा मालालाई प्रतिबन्ध गरेको छ। सूचनाले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) को जिकिर गर्दै प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक भएको र काठमाडौं महानगरले पनि निषेध गरेको बताए। विभागले आउँदै गरेको तिहारलाई लक्षित गरी आयात हुने प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोगबाट वातावरणलाई हुने क्षति कम गरी स्वदेशी फूल तथा मालाको बिक्री वितरण तथा प्रयोगलाई प्राथमिकतामा राख्नुहुन सम्पूर्ण महानगरवासीमा अनुरोध गरेको छ।
र, अवज्ञा गरी पूर्णरूपमा रोक लगाइएका प्लास्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरण तथा भण्डारण वा सजावटको लागि प्रयोग गरिएको पाईएमा सो सामाग्रीहरूको जफत हुने तथा कामपा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐनबमोजिम कारबाही हुनेसमेत जानकारी गरेको छ।