: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि नभएको बताएकी छन्। उनले न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय भएको बताएकी हुन्।
उनले भनिन्,‘मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि हुँदैन, न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय हो।’
मन्त्री गौतमले मेलमिलाप न्यायमा सहज पहुँच, समय र खर्चको बचत तथा सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गरिन्।
‘अदालतमा मुद्दाको चाप बढिरहेको हाम्रो सन्दर्भमा मेलमिलाप न्यायमा सहज पहुँच, समय र खर्चको बचत तथा सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी माध्यम हो। यसले हारजितभन्दा सहमति, द्वन्द्वभन्दा संवाद र कटुताभन्दा सम्बन्ध सुधारलाई प्राथमिकता दिन्छ। यही उद्देश्यले सरकारले संसदमा दर्ता गरेको मेलमिलापसम्बन्धी कानुन संशोधन विधेयक हाल संसदीय समितिमा छलफलको क्रममा छ। उनले भनिन्,‘आज उक्त विधेयकमाथिको छलफलमा सहभागी भएर सरोकारवालाहरूको विचार सुन्ने मौका मिल्यो।’
कानुन मन्त्री गौतमले आफूहरुको लक्ष्य मुद्दाको सङ्ख्या मात्र घटाउनु नभई न्यायलाई छिटो, सरल, सुलभ र नागरिकमैत्री बनाउनु पनि रहेको बताइन्।