: फ्रान्समा बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध देशव्यापी हडताल तथा प्रदर्शन चर्किएको छ । पाँचवटा श्रमिक संगठनको आह्वानमा बिहीबार भएको प्रदर्शनमा उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सहभागी भएका छन् ।
प्रदर्शनकारीहरूले न्यूनतम ज्याला वृद्धि, सार्वजनिक सेवामा सुधार र जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजेसम्म करिब ७० सहरमा २ लाख ५० हजारभन्दा बढी मानिस सडकमा उत्रिएको श्रमिक संगठन सीजीटीकी नेता सोफी बिनेटले बताएकी छन् ।
प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकारले ७० हजार प्रहरी परिचालन गरेको छ । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले हिंसात्मक गतिविधि भए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रदर्शनका क्रममा लियोन र रेनेस सहरमा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको बिबिसिले जनाएको छ । लियोनमा एउटा कारमा आगजनी गरिएको छ भने रेनेसमा मुख छोपेका प्रदर्शनकारीको समूह र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।
हडतालका कारण विद्यालय, अस्पताल र सार्वजनिक यातायात सेवा प्रभावित भएका छन् । पेरिसस्थित एफिल टावर र लुभ्र सङ्ग्रहालयका केही प्रदर्शनी कक्षसमेत बन्द गर्नुपरेको छ । आणविक ऊर्जा केन्द्रका कर्मचारीको आन्दोलनका कारण फ्रान्सले बिहीबार आफ्नै उत्पादनभन्दा बढी विद्युत् आयात गर्नुपर्ने अवस्था आएको छ ।
हाल फ्रान्समा प्रतिघण्टा न्यूनतम ज्याला १२.३१ युरो छ। श्रमिक संगठनहरूले न्यूनतम ज्याला बढाउनुका साथै मासिक तलबमा कम्तीमा १०० युरो वृद्धि गर्न माग गरेका छन् ।
यसैबीच, केही वर्षअघि महँगीविरुद्ध आन्दोलन गरेको ‘येलो भेस्ट’ आन्दोलनसमेत पुनः सक्रिय भएको छ । उक्त समूहले शुक्रबार र शनिबार पनि सडक अवरोध तथा प्रदर्शन गर्ने आह्वान गरेको छ ।