: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ हुने समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए।
उनले डा. रत्नबहादुर वाग्चन्दको विरुद्धमा ५ वटा, चन्द्रबहादुर सारूको विरुद्धमा ६ वटा, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरी परेको बताए। जसमध्ये ५ जनाले सबैका विरुद्ध उजुरी दिएको उनले जानकारी दिए।
बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो। असोज २० गते बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।