: सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित ३ जना पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा मिनी ट्रक जाँच गर्ने क्रममा ४७ किलो ८७० ग्राम विस्फोटक पदार्थ बरामद गरेको छ।
शुक्रबार इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले भन्सार छली ल्याइएका सामानसँगै शंकास्पद विस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले विस्फोटक पदार्थ ओसारपसारमा संलग्न भएका मिनी ट्रकको चालक मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीप कुमार शाह,मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कात्तिक राजवंशीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईले बताए।
प्रहरीले जुटको बोराभित्र प्याकिङ गरिएको अवस्थामा उक्त विस्फोटक पदार्थ फेला पारेको जनाएको छ। प्रारम्भमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सोडा (पोटासियम नाइट्रेट) जस्तो देखिएपछि परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशी, काठमाडौं पठाइएको थियो। प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा नमुनामा पोटासियम आयन र नाइट्रेट आयन फेला परेको उल्लेख छ। त्यसपछि उक्त घटनामा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने देखिएकाले प्रहरीले थप अनुसन्धान अघि बढाएको डीएसपी राईले बताए। प्रहरीले कात्तिक १० गते बरामद गरेको उक्त पदार्थ प्रहरीको प्रयोगशालामा परीक्षण गर्दा विस्फोटक पदार्थ भएको पुष्टि भएपछि शनिबार घटनाको वास्तविकता सार्वजनिक गरेको छ।