: न्युजिल्यान्डको सन् २०२६ को आमनिर्वाचनको प्रारम्भिक मत परिणामअनुसार वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको छ। प्रारम्भिक मत परिणामले आगामी तीन वर्षका लागि लक्सन नै पुनः प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखाएको छ।
अधिकांश मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा नेसनल पार्टीले ४२ सिट प्राप्त गरेको छ भने लेबर पार्टी ३६ सिटसहित दोस्रो स्थानमा छ। पार्टीगत मत प्रतिशतमा भने दुवै दलले समान २९.३ प्रतिशत मत प्राप्त गरेका छन्।
प्रारम्भिक परिणामले नेसनललाई सरकार गठनको प्रतिस्पर्धामा अगाडि राखे पनि संसद्मा बहुमत पुर्याउन अन्य दलको समर्थन आवश्यक पर्नेछ। निर्वाचनको पछिल्लो विवरणअनुसार ग्रिन पार्टीले १६, एसीटीले १३, न्युजिल्यान्ड फस्र्टले १२, अपच्र्युनिटी पार्टीले ७ र ते पाटी माओरीले ५ सिट प्राप्त गरेका छन्। अन्य दलहरूले ०.८ प्रतिशत मत प्राप्त गरे पनि संसद्मा सिट जित्न सकेका छैनन्।
नेसनल र लेबरबीच पार्टीगत मत प्रतिशत समान देखिए पनि निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद र समानुपातिक सूचीबाट प्राप्त सिटको परिणामले नेसनललाई संसद्मा ७ सिटको अग्रता दिलाएको छ। तर, न्युजिल्यान्डको मिश्रित सदस्य समानुपातिक निर्वाचन प्रणाली (एमएमपी) अनुसार सरकार गठन गर्न संसद्मा बहुमतको समर्थन आवश्यक हुन्छ।
यसपटकको प्रारम्भिक परिणामअनुसार नेसनल पार्टी ४२ सिटमा सीमित रहेकाले एक्लै सरकार गठन गर्न सक्ने अवस्थामा छैन। बहुमतका लागि कम्तीमा ६६ सिट आवश्यक पर्ने भएकाले अन्य दलसँग सहकार्य वा गठबन्धन गर्नुपर्ने हुन्छ।
नेसनलसँग १३ सिट रहेको एसीटी र १२ सिट रहेको न्युजिल्यान्ड फस्र्टको समर्थनले सरकार गठनको गणितमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। यी दलहरूबीच नयाँ सरकार गठनका विषयमा सहकार्य हुनसक्ने आँकलन गरिएको छ। निर्वाचन परिणामपछि यी दलहरूबीच बन्ने राजनीतिक सहमतिले आगामी सरकारको स्वरूप निर्धारण गर्नेछ।
निर्वाचनको अर्को उल्लेखनीय परिणाम अपच्र्युनिटी पार्टीको संसद् प्रवेश हो। पार्टीले ६ प्रतिशत मत प्राप्त गर्दै ७ सिट जितेको छ। यसले संसद्मा नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व थप्ने भएको छ।
यसैबीच, मतगणना जारी रहँदा लेबर पार्टीका नेता क्रिस हिप्किन्सले प्रत्येक मतको महत्त्व रहेको भन्दै मतदातालाई धन्यवाद दिएका छन्। उनले निर्वाचनमा साथ दिने समर्थक, पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै आगामी संसद्मा राजनीतिक दलहरूबीच सहकार्य र साझा सहमति आवश्यक पर्ने बताए। हिप्किन्सले निर्वाचन परिणामले आफ्नो पार्टीलाई दिएको सन्देश बुझ्न केही समय लाग्ने उल्लेख गर्दै आगामी दिनमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए।
त्यस्तै, निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्न सफल नेसनल पार्टीका नेता तथा प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आफ्नो पार्टी संसद्को सबैभन्दा ठूलो दल बनेकाले आगामी सरकार गठन गर्ने सम्भावना बलियो रहेको बताए।नतिजाप्रति प्रतिक्रिया दिँदै लक्सनले भने, ‘आज राति न्युजिल्यान्डका नागरिकले मतदान गरेका छन् र यो निर्वाचन मिश्रित सदस्य समानुपातिक प्रणाली (एमएमपी) को विशेष उदाहरणजस्तै बनेको छ।’
उनले नेसनल पार्टी संसद्मा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुनु सकारात्मक भएको बताउँदै आगामी सरकार गठनका लागि आफ्नो पार्टीसँग स्पष्ट सम्भावित बाटो रहेको उल्लेख गरे।
लक्सनका अनुसार निर्वाचन आयोगले नोभेम्बर २७ मा अन्तिम मत परिणाम सार्वजनिक गर्नेछ। त्यसअघिसम्म वर्तमान सरकार कामचलाउ हैसियतमा रहनेछ। अन्तिम मतगणना सम्पन्न भएपछि सरकार गठनका लागि राजनीतिक दलहरूबीच औपचारिक छलफल तथा गठबन्धन वार्ता सुरु हुनेछ।
उनले प्रतिस्पर्धात्मक निर्वाचनका लागि लेबर पार्टीका नेता क्रिस हिप्किन्सलाई धन्यवाद दिँदै पहिलोपटक संसद्मा प्रवेश गर्ने अवसर पाएको किउलाइवङको पार्टीलाई पनि बधाई दिए।न्युजिल्यान्डको निर्वाचन प्रणालीमा मतदाताले आफ्नो निर्वाचन क्षेत्रको उम्मेदवार र राजनीतिक दललाई छुट्टाछुट्टै मत दिने व्यवस्था छ।