: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो दिउँसो १:३० बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खस्दा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा मकवानपुर बागमती गाउँपालिका–१ बस्ने १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समिक्षा पहरी, ९ वर्षीय प्रवास पहरी र ७ वर्षीया स्वस्तिका पहरी रहेका छन्। ९ वर्षीय बालक प्रवास पहरीको निधार र अनुहारमा गम्भीर चोट लागेको छ भने उनी बोल्न नसक्ने अवस्थामा छन्।
त्यस्तै सिन्धुली हरिहरपुरगढी गाउँपालिका–१ ककरे बस्ने ६० वर्षीया पातलीमाया भोलन र पहिचान खुल्न नसकेकी अन्दाजी ३२/३३ वर्षीया एक गर्भवती महिला पनि गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भएकी गर्भवती महिलाको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ।
दुर्घटनामा अटो चालक मकवानपुर बागमती गाउँपालिका–१ बस्ने ४० वर्षीय गंगा घिसिङ पनि घाइते भएकी छन्। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा सबै घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि मकवानपुरतर्फ पठाइएको छ। घटनास्थलमा प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त अटो भने घटनास्थलमै रहेको छ।