: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन्। तिहार पर्व, २०८३ को शुभकामना सन्देश दिँदै पौडेलले पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताएका हुन्।
‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो। हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको छ। यस्ता पर्वहरूमध्ये तिहार नेपालीहरूको महान् पर्वको रुपमा रहेको छ। यस पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ।’ उनले भनेका छन्,‘तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मी पूजाको दिनमा भगवती लक्ष्मीको पूजा आराधना गरिन्छ। भाईटीकाका दिनमा दाजुभाई तथा दिदीबहिनीबीच आपसमा टीका लगाई सद्भावका साथ पूजा अर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ।’
मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धको स्वरूप गोवर्द्धन पर्वत, मानव र अन्य पशुपन्छी, जीवजनावरहरू बीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन परिवार, प्रकृति, जनावर र देवता प्रतिको सम्मान र प्रेम झल्काउने यस पर्वमा सामाजिक भाइचारा र सद्भाव दर्शाउन दियो बाल्ने, मिठा परिकारहरू खाने तथा देउसी भैलो खेल्ने परम्परा रहेको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ।
‘नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ। भाइटीका लगाउने, म्हपूजा गर्नाले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजय जस्ता सन्देशहरू प्रवाह गरेको देखिन्छ।’ उनले भनेका छन्,‘सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि हो। तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु।’
पौडेलले तिहार पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।