: पर्सा प्रहरीले पटका नियन्त्रण अभियान सञ्चालन गर्दै तीन दिनको अवधिमा करिब साढे तीन लाख रुपैयाँ मूल्य बराबरका विभिन्न ११ प्रकारका पटका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले यही कात्तिक २१ गतेदेखि सुरु गरेको विशेष अभियानका क्रममा ठूलो परिमाणमा आतिशबाजीजन्य विस्फोटक पदार्थ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार बरामद गरिएका पटाकामा खुर्सानी पटका, चक्र, फुलझरी, रकेट पटका, आलु बम र झिरझिरेलगायत ११ प्रकारका सामग्री रहेका छन् ।
विस्फोटक पदार्थको प्रयोगबाट जनधनको क्षति हुनुका साथै आगलागीको जोखिमसमेत रहने भएकाले जिल्लामा पटाकाको ओसारपसार तथा बेचबिखन नियन्त्रणमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पटाकाको ओसारपसार, बेचबिखन, भण्डारण तथा उत्पादन गैरकानुनी रहेको स्मरण गराउँदै यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, विस्फोटक आतिशबाजीको जोखिमबाट बच्दै सुरक्षित रूपमा चाडपर्व मनाउन प्रहरीले अपिल गरेको छ ।