: बेलायती कमेडियन तथा अभिनेता रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा साढे १० वर्षको जेल सजाय सुनाइएको छ ।
लन्डनस्थित साउथवार्क क्राउन अदालतले सोमबार ५१ वर्षीय ब्रान्डलाई उक्त सजाय सुनाएको हो । उनी सन् २००४ देखि २००९ सम्म चार महिलामाथि भएका यौन अपराधमा दोषी ठहर भएका थिए । जसमा एक बलात्कार र तीन यौन दुर्व्यवहारका घटना रहेका छन् ।
यसअघि बिहीबार अदालतले उनलाई उक्त अपराधमा दोषी ठहर गरेको थियो । सोमबार न्यायाधीशले सजाय निर्धारण गरेका हुन् ।
सजाय सुनाउने क्रममा न्यायाधीशले ब्रान्डलाई ‘यौन सिकारी’ को संज्ञा दिएका थिए । उनीमा असाधारण अहंकार रहेको र अदालतसमक्ष झुटको शृङ्खला प्रस्तुत गरेको न्यायाधीशको टिप्पणी थियो । सन् २०२३ मा सञ्चारमाध्यमले उनीमाथिका आरोप सार्वजनिक नगरेसम्म उनको ख्यातिले उनलाई जोगाइरहेको पनि न्यायाधीशले उल्लेख गरेका थिए ।
अदालतको सुनुवाइका क्रममा पीडित महिलाहरूले आफूले भोग्नुपरेको मानसिक पीडा र आघातबारे बयान दिएका थिए । सन् २००९ मा ब्रान्डको घरमा बलात्कृत भएकी एक महिलाले त्यसपछि आफूलाई एचआईभी संक्रमण हुने डरले लामो समयसम्म सताएको बताएकी थिइन् ।
अर्की पीडितले टेलिभिजनमा ब्रान्डलाई देख्दासमेत आफूलाई शारीरिक रूपमा असहज महसुस हुने बताएकी थिइन् । उनले ब्रान्डमा कुनै पश्चात्ताप नदेखिएको भन्दै आफ्नो पीडा व्यक्त गरेकी थिइन् ।
सुनुवाइका क्रममा ब्रान्डकी श्रीमती लौरा पनि अदालतमा उपस्थित थिइन् । सजाय सुनाइएपछि ब्रान्डलाई जेल लैजान लाग्दा उनले दर्शकदीर्घामा रहेकी श्रीमतीतर्फ हेर्दै केही क्षण रोकिएर ‘आई लभ यू’ भनेका थिए ।
ब्रान्डका वकिलले उनी अहिले पूर्ण रूपमा परिवर्तन भइसकेको दाबी गर्दै सजायमा सहुलियत दिन आग्रह गरेका थिए । लागुऔषध दुर्व्यसनमा परेकाहरूको पुनःस्थापना र समाजसेवामा उनले गरेको योगदानलाई ध्यान दिनुपर्ने वकिलको तर्क थियो ।
तर सरकारी वकिलले अपराधको गम्भीरता र पीडित महिलाहरूमा परेको गहिरो असरलाई आधार बनाउँदै कडा सजायको माग गरेका थिए । अन्ततः अदालतले अपराधको गम्भीरतालाई ध्यानमा राख्दै उनलाई साढे १० वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।