: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन ३ ट्रिलियन डलर बराबरको बजार मूल्य गुमेको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत निर्वाचनको नतिजाले अमेरिका इतिहासमै धेरै कदम पछाडि धकेलिएको टिप्पणी गरेका हुन् । आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले निर्वाचनपछि ठूलो क्षति बेहोर्नुपरेको उनको दाबी छ ।
‘तर चिन्ता नगर्नुहोस्, हामी पहिलेभन्दा ठूलो र बलियो भएर फर्किनेछौँ’, ट्रम्पले लेखेका छन् ।
शुक्रबार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले डेमोक्र्याटहरूले निर्वाचनमा राम्रो प्रदर्शन गरेको खबर सार्वजनिक भएपछि बजारमा करिब ३ ट्रिलियन डलर बराबरको मूल्य घटेको बताएका थिए । उनले बजारको गिरावटलाई इरानलाई आणविक हतियार राख्न नदिने अमेरिकी नीतिसँग समेत जोडेका थिए ।
ट्रम्पले यसअघि पनि डेमोक्र्याटहरूको चुनावी जितलाई सेयर बजारमा आएको गिरावटसँग जोड्दै आएका छन् । यद्यपि, बजारमा आएको गिरावटको कारण निर्वाचनको नतिजा मात्रै नभई प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको लगानीप्रति देखिएको चिन्ता पनि रहेको बताइएको छ ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवै सदनको नियन्त्रण गुमाएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । निर्वाचनमा डेमोक्र्याटहरूले दुवै सदनमा बहुमत हासिल गरेका छन् ।
पार्टीको पराजयबारे प्रतिक्रिया दिँदै ट्रम्पले आफू मतपत्रमा नरहेकाले रिपब्लिकनले हार बेहोर्नुपरेको दाबी गरेका थिए ।
यसैबीच, उपराष्ट्रपति जेडी भान्सले पनि निर्वाचनमा पार्टीको कमजोर प्रदर्शन हुनुमा इरानसँगको युद्ध, महँगी र बढ्दो जीवनयापन खर्चलाई प्रमुख कारण मानेका छन् ।
निर्वाचनपछि पनि अमेरिकी सेनाले गत शुक्रबार होर्मुज जलमार्ग नजिकै रहेको इरानको केश्म टापुमा हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी सीमित आक्रमण गरेको थियो । राष्ट्रपति ट्रम्पले उक्त आक्रमणलाई सीमित कारबाहीको संज्ञा दिएका थिए ।
डेमोक्र्याटहरूले दुवै सदनको नियन्त्रण लिए पनि ट्रम्प सन् २०२९ सम्म राष्ट्रपति पदमा रहनेछन् ।