: मोरङको मिक्लाजुङमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दुर्घटनामा परेर ६५ वर्षीया महिला गम्भीर घाइते भएकी छन्। मिक्लाजुङ गाउँपालिका–६ शान्ति टोलमा सोमबार दिउँसो भएको दुर्घटनामा अटो सडकबाट अनियन्त्रित हुँदै दुईवटा घरमा ठोक्किएको थियो। मधुमल्ला–टाँडी सडकखण्डमा दिउँसो साढे ३ बजेतिर प्रदेश १–०२–००३ ह ६५७ नम्बरको अटो दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।
दुर्घटनामा परेर घाइते भएकी मिक्लाजुङ–६ की ६५ वर्षीया नरमाया मगरको अवस्था गम्भीर छ। उनको दाहिने खुट्टासहित शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ । मिक्लाजुङ–७ की मनिषा मगरको दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था मध्यम रहेको छ। दुर्घटनामा मनिषाका ३ वर्षीय छोरा नेडियन मगर पनि घाइते भएका छन्। अटो चालक वीरेन्द्र खड्का, विजय बुढाथोकी र उनकी श्रीमती अनिषा खड्का दुर्घटनामा परेर घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
इन्स्पेक्टर न्यौपानेका अनुसार घाइते सबैलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याइएको छ। दुर्घटनामा परेको अटो ठोक्किँदा उमा मगर र ओमकुमार दाहालको घरमा पनि सामान्य क्षति पुगेको छ। दुर्घटनापछि प्रहरीले अटो नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मधुमल्लामा राखेको छ।
दुर्घटनाको कारण यकिन भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।