: पश्चिमी टर्कीको बन्दरगाह सहर इज्मिर नजिकै रहेको एउटा स्टिल कारखानामा विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार ज्यान गुमाउने र घाइते हुने सबै जना देशको प्रमुख स्टिल उत्पादकहरूमध्ये एक 'हाबास डेमिर चेलिक' प्लान्टका श्रमिकहरू हुन्।
स्थानीय गभर्नरका अनुसार एउटा विस्थापन बोइलर बोकेको क्रेन खसेर तल रहेको भट्टीमा सामग्रीहरू खसेपछि उक्त विष्फोट भएको थियो।राष्ट्रपति रेसेप तैयप एर्दोगानले सुरुमा मृतकको संख्या १६ रहेको बताएका थिए, तर स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले पछि गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएपछि मृतकको संख्या १७ पुगेको घोषणा गरे।
प्रत्यक्षदर्शीहरूका अनुसार विष्फोटले जमिन नै हिलाएको थियो भने एक जनाले सुरुमा भूकम्प आएको ठानेका थिए।कारखाना सञ्चालन गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा प्लान्टको एउटा इलेक्ट्रिक आर्क भट्टीमा नियमित मर्मतसम्भारको काम भइरहेका बेला उक्त दुर्घटना भएको जनाएको छ ।
इज्मिरका गभर्नर सुलेमान एलबानले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार केही मानिसहरू अझै पनि भग्नावशेषमुनि थिचिएको अनुमान गरिएको छ। सोमबार मन्त्रिपरिषद्को बैठकपछि बोल्दै एर्दोगानले मृतकहरूको पुष्टि गरे र खोजी तथा उद्धार कार्य जारी रहनुका साथै घटनाको अनुसन्धान भइरहेको बताए।
स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसी न्यूजको टर्की सेवाका अनुसार कम्तीमा पाँच जनालाई पक्राउ गरिएको छ।हाबास प्लान्ट इज्मिरको अलियागा जिल्लामा अवस्थित छ, जुन एक प्रमुख बन्दरगाह र टर्कीको मुख्य जहाज तोड्ने (शिपब्रेकिङ) हबहरूमध्ये एक हो।