: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा रक्षा मन्त्री पीट हेगसेथको पत्रकार सम्मेलन सुरु हुनुअघि पत्रकारहरूलाई व्यावसायिक व्यवहार गर्न चेतावनी दिइएको छ।
पेन्टागनको ब्रिफिङ कक्षमा उपस्थित ६० देखि ७० जना पत्रकारलाई सैनिक पोसाकमा आएका एक अधिकारीले अनुशासनहीन व्यवहार गरे बाहिर निकाल्ने चेतावनी दिएका हुन्।
अधिकारीले पत्रकारहरूको कुनै पनि व्यवहार आफूलाई अनुचित लागे उनीहरूलाई तत्काल कक्षबाट बाहिर पठाइने स्पष्ट पारेका थिए। कस्तो व्यवहारलाई अनुचित वा अव्यावसायिक मानिने भन्नेबारे भने उनले स्पष्ट जवाफ दिन सकेनन्।
पत्रकारहरूले मन्त्रीलाई कडा र असहज प्रश्न सोध्न सक्ने भए पनि सम्मेलनका क्रममा व्यावसायिक मर्यादा कायम राख्नुपर्ने अधिकारीको भनाइ थियो। तर, पत्रकारहरूले बारम्बार नियमको स्पष्ट व्याख्या माग्दा पनि अधिकारीले त्यसबारे ठोस जानकारी दिएनन्।
एक पत्रकारले भने, ‘मैले यहाँ अहिलेसम्म कसैले कुर्सी फ्याँकेको वा त्यस्तो कुनै व्यवहार गरेको देखेको छैन।’ पत्रकारहरूले नियमको स्पष्टता मागिरहे पनि उनीहरूले तत्काल कुनै जवाफ पाउन सकेनन्।
रिपब्लिकन पार्टीका एक सांसदले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयास सुरु गरेपछि हेगसेथले पत्रकार सम्मेलन गरेका हुन्।
छ महिनापछि हुन लागेको हेगसेथको यो पहिलो पत्रकार सम्मेलन हो। इरान युद्ध व्यवस्थापनमा उनले अपनाएको रणनीतिलाई लिएर अमेरिकाका प्रमुख दुई राजनीतिक दलभित्र असन्तुष्टि बढिरहेका बेला उनको पत्रकार सम्मेलन भएको हो।