: फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार साउदी अरबको राजधानी रियादमा विस्फोटका धेरै आवाज सुनिएका छन्।
साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको दाबी गरेको छ। सोही समयमा रियादमा विस्फोटका आवाज सुनिएका हुन्।
एएफपीका पत्रकारहरूले मोबाइल फोनमा हवाई आक्रमणको जोखिमसम्बन्धी सतर्कता सन्देश प्राप्त गरेका थिए। उक्त सन्देशमा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। केही समयपछि साउदी अरबको नागरिक सुरक्षा विभागले अर्को सन्देश जारी गर्दै खतरा टरेको जनाएको थियो।
यसैबीच हुथी विद्रोहीको आक्रमणको जवाफमा साउदी नेतृत्वको गठबन्धनले यमनमा उनीहरूका अखडालाई लक्षित गरी हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ।
हुथी विद्रोहीसँग सम्बन्धित समाचार संस्था सबाका अनुसार मंगलबार यमनको राजधानी सना र आसपासका क्षेत्रमा साउदी लडाकु विमानले हवाई आक्रमण गरेका थिए।
उक्त आक्रमणमा यमनको राष्ट्रिय तेल कम्पनीको ग्यास केन्द्र र एउटा भवनलाई निशाना बनाइएको समाचार संस्थाले जनाएको छ।