: अमेरिका र युरोपका विभिन्न स्थानमा आतङ्कवादी हमलाको षड्यन्त्र रचेको अभियोगमा अमेरिकी न्याय मन्त्रालयले इरानको समर्थन प्राप्त तीन जना व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ।
सार्वजनिक आरोपपत्र अनुसार अभियोग लगाइएकाहरूमा इरानी नागरिक मोहसिन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र दुवै देशको नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल-सादी रहेका छन्।
बीबीसीका अनुसार उनीहरू इरानको इस्लामिक रिभोलुश्नरी गार्ड कोर (आईआरजीसी) र इराकी लडाकु समूह कताइब हिज्बुल्लाहको समर्थनमा झन्डै २० वटा आक्रमण प्रयासमा संलग्न रहेको बताइएको छ।
मुख्य आरोपी अल-सादीले न्यूयोर्कको कारागारमा थुनामा छँदै ब्रिटेनमा रहेका आफ्ना सम्पर्क व्यक्तिहरूसँग गुप्त सङ्केतयुक्त सन्देशमार्फत सञ्चार गरी आक्रमणको योजना बनाएका थिए। अन्य दुई जनाले भने इरानमै बसेर समन्वय गरेका थिए।
ती अभियुक्तहरूले 'हर्कत असहाब अल-यमिन अल-इस्लामिया' (हायी) नामक नयाँ समूहको नाममा आक्रमण सञ्चालन गर्दै आएका थिए। सन् २०२६ को वसन्तयाममा युरोपमा भएका १८ वटा आतङ्कवादी घटनामध्ये सात वटा ब्रिटेनमा भएका थिए। जसमा आगजनी, बम विस्फोट र लन्डनको गोल्डर्स ग्रीनमा दुई जना यहुदी पुरुषमाथि भएको सांघातिक चक्कु प्रहार समावेश छन्।
यसै षड्यन्त्रअन्तर्गत गत सेप्टेम्बर २७ मा ब्रिटेनको ग्लस्टरशरस्थित आरएएफ फेअरफोर्ड हवाई अखडानजिकै शङ्कास्पद भ्यानहरू फेला परेपछि सुरक्षा सतर्कता अपनाउँदै दर्जनौँ घर खाली गराइएको थियो। उक्त हवाई अखडा अमेरिकी फौजले प्रयोग गर्दै आएका छन्। यस प्रकरणमा ब्रिटेनमा सात जना पक्राउ परिसकेका छन्।
एफबीआईका निर्देशक काश पटेलका अनुसार आठ वटा अभियोग समेटिएको यो आरोपपत्रले युरोप र अमेरिकामा आतङ्क फैलाउने इरानको उद्देश्यलाई उजागर गरेको छ। यद्यपि, इरानले आरएएफ फेअरफोर्ड घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै आरोपको खण्डन गरेको छ।