। राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन योगदान पुर्याएको बताएका छन् ।
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक रूढिवादको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले पुर्याएको योगदान स्मरणीय रहेको बताएका हुन् ।
फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुर्याएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।
‘किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ,’ राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।
महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधार, धर्म, भाषा, लिपि र परम्पराको संरक्षण तथा विकासमा महत्त्वपूर्ण काम गरेको पनि सन्देशमा जनाइएको छ ।
राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैलाई सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा र समाज सुधारको अभियानमा सक्रिय रहन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।