— असिनापानीका कारण धावनमार्ग अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो ५५ मिनेट बन्द भएको छ।
विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार बुधबार दिउँसो १ बजेर ४७ मिनेटमा बन्द भएको विमानस्थल २ बजेर ४२ मिनेटमा पुनः सञ्चालनमा आएको हो।
असिनापानीका कारण धावनमार्गको करिब १ हजार ५०० मिटर खण्ड अवरुद्ध भएको थियो। विमानस्थलको ब्राभो ट्याक्सीवेबाट उत्तरतर्फ रनवे ०२ को बिन्दुसम्म असिना जमेर धावनमार्ग चिप्लो भएपछि उडान तथा अवतरण रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
विमानस्थल बन्द हुँदा अवतरणका लागि आएका दुई अन्तर्राष्ट्रिय उडान अन्यत्र डाइभर्ट भएका छन्। शारजहाबाट आउदै गरेको एयर अरेबियाको जी९ ५३२ उडान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको बनारस डाइभर्ट भएको छ। त्यसैगरी दुबईबाट आएको फ्लाई दुबईको विमान पनि अवतरण हुन नसकेपछि भारतको लखनउ डाइभर्ट भएको छ। अन्य आन्तरिक विमान लामो होल्डपछि पुन: अवतरण हुने क्रम सुरु भएको छ ।
विमानस्थलका अधिकारीहरूका अनुसार असिना हटाउन र धावनमार्ग सञ्चालनयोग्य बनाउन रेस्क्यु एन्ड फायर फाइटिङ (आरएफएफ) को दमकल प्रयोग गरेर पानी छर्केर सफा गरिएको छ ।
विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार असिना हटाउन विमानस्थलसँग छुट्टै उपकरण छैन। असिना जमेर धावनमार्ग चिप्लो बनेपछि सुरक्षित उडान तथा अवतरणका लागि विमानस्थल बन्द गर्नुपरेको हो। विमानस्थलमा मौसमको दृश्यता करिब ४ हजार मिटर रहेको र मध्यम वर्षा भइरहेकाले इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अनुसार उडान सञ्चालन भइरहेका छन् ।