: इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले शैक्षिक प्रमाणपत्रसम्बन्धी विवाद उत्कर्षमा पुगेपछि पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले सन् २०२४ को निर्वाचनका क्रममा उनले पेस गरेको माध्यमिक तहको शैक्षिक कागजात अमान्य भएको फैसला सुनाएपछि गिब्रान नैतिक तथा संवैधानिक दबाबमा परेका थिए ।
उनका सहयोगी बुदी आरिएका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोसमक्ष सीधा राजीनामा पत्र बुझाएका हुन् । यद्यपि, राष्ट्रपतिबाट उक्त राजीनामा स्वीकृत भइसकेको छ वा छैन भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
इन्डोनेसियाको कानुनअनुसार उपराष्ट्रपति बन्न कम्तीमा उच्च माध्यमिक विद्यालय वा सोसरहको शिक्षा पूरा गरेको हुनुपर्छ । सिङ्गापुर र अस्ट्रेलियामा अध्ययन गरेका गिब्रानले इन्डोनेसियाली समकक्षता (इक्विभ्यालेन्सी) प्रमाणपत्र पेस गरेका थिए । तर, सर्वोच्च अदालतले उनले माध्यमिक तह पूरा गरेको प्रमाणित गर्ने कुनै ठोस आधार वा विदेशी डिप्लोमा नभेटिएको ठहर गर्यो । यसअघि अक्टोबरको सुरुमा संवैधानिक अदालतले पनि यस्तै निष्कर्ष निकालेको थियो ।
अदालतको फैसला लगत्तै १०० भन्दा बढी सांसदहरूले गिब्रानमाथि महाभियोग लगाउने संसदीय पहललाई समर्थन जनाएपछि उनी पद छाड्न बाध्य भएका हुन् । राजीनामा दिनुअघि मंगलबार उनले राज्य सचिव प्रसेत्यो हादीमार्फत अदालतको फैसलालाई चुनौती दिने र आफ्नो शैक्षिक योग्यता प्रमाणित गर्ने अवसर पाउनुपर्ने माग राखेका थिए । उनले विश्वविद्यालयको शिक्षा हासिल गर्नु नै 'हाई स्कुल' पूरा गरेको पर्याप्त प्रमाण भएको तर्क गर्दै आएका थिए ।
गिब्रानको यो बहिर्गमनले राष्ट्रपति प्रबोवो सुबियान्तो र पूर्वराष्ट्रपति जोको विडोडो (जोकोवी) बीचको सत्ता गठबन्धनमा गम्भीर संकट निम्त्याएको छ । गिब्रान पूर्वराष्ट्रपति जोकोवीका छोरा हुन् । सन् २०२४ को निर्वाचनमा कट्टर राजनीतिक प्रतिस्पर्धी रहेका जोकोवी र प्रबोवोबीच सत्ता साझेदारीको सहमति बनेपछि ३६ वर्षीय गिब्रान उपराष्ट्रपति बनेका थिए । त्यतिबेला संवैधानिक अदालतले ४० वर्षको उमेर हदमा विवादास्पद छुट दिएपछि मात्र उनको उम्मेदवारी सम्भव भएको थियो ।
प्रबोवो प्रशासन चौतर्फी संकटसँग जुधिरहेको बेला उपराष्ट्रपतिको राजीनामा आएको हो । सरकारको महत्त्वाकाङ्क्षी 'निःशुल्क विद्यालय खाजा' कार्यक्रम बजेट अभावमा फसेको छ भने देशका विभिन्न भागमा एक दशकयताकै भीषण डढेलो लागेको छ । त्यस्तै, बजार धाँधलीको आरोपबीच राष्ट्रिय सेयर बजार ओरालो लागेको छ । भ्रष्टाचार र वातावरणीय संकटको विरोधमा मंगलबार मात्र देशभरका विद्यार्थीहरूले सरकारविरुद्ध व्यापक प्रदर्शन गरेका थिए ।