: जर्मनीको सशस्त्र बल ‘बुन्डेसवेर’ भित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको एक सर्वेक्षणले खुलासा गरेको छ । सर्वेक्षणअनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार र १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहार भोगेको बताएका छन् ।
रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा कम उमेरका तथा तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू बढी प्रभावित भएको उल्लेख छ । पुरुष सैनिकमध्ये पनि विपरीत लिङ्गप्रति आकर्षित नहुनेहरू दुर्व्यवहारको बढी जोखिममा रहेको पाइएको छ ।
अध्ययनका क्रममा आठ हजार महिला तथा पुरुष सैनिकसँग प्रश्नावली भराइएको थियो । यो जर्मन सेनाको कुल एक लाख ८६ हजार दुई सय जनशक्तिको करिब चार प्रतिशत हो । सर्वेक्षणमा सहभागी दुई प्रतिशत सैनिकले आफू यौन हिंसाको सिकार भएको बताएका छन् ।
रक्षामन्त्री पिस्टोरियसले सेनामा यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति रहेको बताउँदै पीडितलाई सहयोग, रोकथाम र दोषीमाथि अनुशासनात्मक कारबाहीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच, ग्रिन्स पार्टीकी सांसद साराह नान्नीले यस्ता घटनाको निष्पक्ष अनुसन्धानका लागि स्वतन्त्र बाह्य निकाय गठन गर्न माग गरेकी छन् ।
रुस–युक्रेन युद्धपछि आफ्नो रक्षा क्षमता विस्तारमा जुटेको जर्मनीले सन् २०३५ सम्ममा दुई लाख ६० हजार सक्रिय र दुई लाख जगेडा सैनिकसहितको सैन्य बल तयार पार्ने लक्ष्य राखेको छ । हाल बुन्डेसवेरमा महिला सैनिकको सहभागिता करिब १४ प्रतिशत मात्रै रहेको छ ।