। इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन्।
अल जजिरासँगको अन्तर्वार्तामा उहाँले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए। प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउने, रोक्का रकम फुकुवा गर्ने, सबै मोर्चामा शत्रुता अन्त्य गर्ने र युद्ध समाप्त भएको औपचारिक घोषणा गर्नुपर्ने सर्त छन् ।
गालिबफले होर्मुज जलघाँटीको व्यवस्थापन तटीय मुलुकहरूको अधिकार क्षेत्रभित्र पर्ने दाबी गर्दै त्यसको नियम इरान र ओमानले निर्धारण गर्नुपर्ने बताए। अमेरिकाले सहमति पालना गरे इरान सम्झौताका लागि तयार रहेको उनको भनाइ छ । तर दुई देशबीच विश्वासको अभाव वार्ताको प्रमुख बाधक रहेको उनले उल्लेख गरे।
उनले रुसको सम्भावित मध्यस्थताबारे पनि चर्चा गर्दै अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई इरानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेको दाबी गरे। उनले अमेरिकाले पुनः आक्रमण गरे राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पराजय बेहोर्नुपर्ने चेतावनीसमेत दिए।
गालिबफले युद्धपछिको कुनै पनि सम्झौतामा होर्मुज जलघाँटीको नयाँ व्यवस्थापन प्रमुख विषय हुने सङ्केत गरेका छन्।