इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यममा लगभग शून्य ध्यान दिइएको बताएका छन् ।
अराघचीले एक्समा लेख्दै गाजाको भयावह अवस्था अब पश्चिमा सञ्चारमाध्यमका प्रमुख समाचार बन्न छाडेको बताएका छन् । उनले यस्तो अवस्था लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
समाचारमा गाजाको अवस्थाले प्राथमिकता नपाउनुले इजरायल आफ्नो एउटा उद्देश्यमा सफल भएको देखिएको उनको भनाइ छ । युद्ध सुरु गरेर त्यसका असफलताबाट विश्वको ध्यान अन्यत्र मोड्न इजरायल सफल भएको उनले आरोप लगाएका छन् ।
उनको यो टिप्पणी खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया भवनमा आक्रमण भएको केही घण्टापछि आएको हो ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा स्वास्थ्यकर्मी, बिरामी र उनीहरूका कुरुवासहित ६ जनाको मृत्यु भएको छ ।