: धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५, तारानगरकी ३५ वर्षीया सुशिला बम रहेकी छन्। प्रहरीका अनुसार बिहीबार साँझ ७:०० बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार चालकसहित तीन जना र स्कुटरमा सवार चालकसहित दुई जना गरी कुल पाँच जना घाइते भएका थिए। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको थियो।
निसर्ग अस्पतालमा उपचार सम्भव नभएपछि गम्भीर घाइते भएकी स्कुटर चालक बमलाई शुक्रबार बिहान २:२६ बजे थप उपचारका लागि धनगढीकै मायामेट्रो अस्पताल रिफर गरिएको थियो। सोही अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल मायामेट्रो अस्पतालमै राखिएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।