: लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले प्रशासनले आफूलाई लेहस्थित घरमै नजरबन्दमा राखेको दाबी गरेका छन् । डिसेम्बरमा तय गरिएको लद्दाख स्वायत्त पहाडी विकास परिषद् (एलएएचडीसी) को निर्वाचन स्थगित गर्न माग गर्दै प्रदर्शनमा उत्रिएपछि उनलाई नजरबन्दमा राखिएको हो ।
सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा भिडियो सन्देश तथा पोस्ट सेयर गर्दै वाङ्चुकले आफ्नो निवास वरिपरि दर्जनौं हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् । आफूलाई घरभित्रै बस्न मात्र सल्लाह दिइएको भन्ने सरकारी दाबीको खण्डन गर्दै उनले भनेका छन्, ‘म नजरबन्दमा छु । सरकारी भनाइमा मलाई घरमै बस्न सल्लाह दिइएको भनिए पनि मेरो घरलाई दर्जनौं हतियारधारी सुरक्षाकर्मीले घेरेका छन् ।’
वाङ्चुकले गत वर्ष लेहमा भएको गोलीकाण्ड तथा मृत्युको घटनाबारे गठित न्यायिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिएको र अत्यधिक जाडोको बीचमा हतार-हतार परिषद्को चुनाव थोपर्न खोजिएकोमा आफूले प्रश्न उठाएको बताएका छन् । उनले भनेका छन्, ‘गत वर्ष लेहमा भएको हत्याको न्यायिक छानबिन आयोगको प्रतिवेदन किन ढिलाइ भइरहेको छ र मध्य जाडोमा रकेटको गतिमा जनतामाथि नक्कली परिषद्को चुनाव किन थोपरिँदैछ भन्ने असहज प्रश्नहरू सोधेकै कारण मलाई रोकिएको हो ।’
उनले सिंगो लद्दाख क्षेत्र अहिले विरोधमा उत्रिएको दाबी गर्दै विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्ना एक्स, इन्स्टाग्राम र युट्युब अकाउन्टहरूको पहुँचलाई समेत नियोजित रूपमा दबाइएको आरोप लगाएका छन् ।
भिडियो सन्देशमा वाङ्चुकले बिहीबार साँझ आफू र आफ्ना सहयोगीहरू विरोधमा धर्ना बस्ने तयारी गरिरहँदा मास्क र हुडी लगाएका व्यक्तिहरू आएर बाहिर ननिस्कन चेतावनी दिएको उल्लेख गरेका छन् । ‘आफूलाई प्रहरी बताउने ती व्यक्तिहरू प्रहरीभन्दा बढी गुण्डा जस्ता देखिन्थे,’ उनले भने, ‘मैले गिरफ्तारी दिन तयार रहेको बताएपछि उनीहरूले मलाई मेरै निवास रहेको इन्स्टिच्युट परिसरमा पुर्याएर बाहिर ननिस्कन निर्देशन दिए ।’
प्रशासनले सार्वजनिक रूपमा निषेधाज्ञाको कदमस्वरूप घरमै बस्न सल्लाह दिइएको बताए पनि परिसर बाहिर दर्जनौं प्रहरी परिचालन गरेर अघोषित नजरबन्दमा राखिएको उनको भनाइ छ । माग पूरा नभएसम्म शान्तिपूर्ण धर्ना जारी रहने वाङ्चुकले स्पष्ट पारेका छन् ।
स्थानीय प्रशासनले आठवटा लद्दाख स्वायत्त पहाडी विकास परिषद्को चुनावका लागि सूचना जारी गर्दै आगामी डिसेम्बर ४ मा मतदान गर्ने मिति तोकेको छ । तर वाङ्चुक र स्थानीय नेताहरूले अत्यधिक चिसोका कारण डिसेम्बर महिनामा विद्यार्थीहरूसहित ठूलो संख्यामा स्थानीय बासिन्दाहरू अस्थायी रूपमा क्षेत्र बाहिर जाने भएकाले हिउँदे चुनावी तालिकाको कडा विरोध गर्दै आएका छन् ।