: श्रद्धा र निष्ठाको महान पर्व छठअन्तर्गत आज व्रतालुहरूले 'नहाय-खाय' विधि गर्दैछन्। बिहानै नदी, ताल, तलैया वा जलाशयमा गई स्नान गरिने यस विधिलाई स्थानीय भाषामा 'नहाय-खाय' भनिन्छ।
छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले अनिवार्य रूपमा यो विधि अपनाउने गर्दछन्। पर्वको दोस्रो दिन भोलि शनिबार 'खर्ना' मनाइन्छ। खर्नाका दिन व्रतीहरू दिनभर उपवास बसी राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्छन् र राति 'अरवा-अरबाइन' (नुन नहालेको) खानेकुरा खाने चलन छ।
त्यस्तै, षष्ठी तिथिका दिन मुख्य पूजा गरिन्छ। यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई पायक पर्ने जलाशयमा गई अर्घ्य दिइनेछ। घरघरमा गहुँ र चामलको पिठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरियाजस्ता पकवानका साथै विभिन्न किसिमका फलफूल, मुला, गाजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती तथा ठूलो ढाक्कीमा राखेर अर्घ्य दिने चलन छ। मुख्य पूजाका अवसरमा परिवारका सम्पूर्ण सदस्य भक्तिभावका साथ लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिकै निर्माण गरिएको छठ घाटसम्म पुग्ने गर्दछन्।
त्यसैगरी, पर्वअन्तर्गत सोमबार बिहान पुनः छठघाटमा पुगी अघिल्लो दिनको क्रम दोहोर्याउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गर्ने रीति छ।
व्रतालुहरू रातभर व्रतस्थल (घाट) मा जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन एकाबिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्वको समापन हुनेछ। चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहिआएको छ।
कार्तिक महिनामा मनाइने छठ पर्व जत्तिकै संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति नभए पनि विस्तारै चैती छठ पर्व मनाउनेहरूको संख्या पनि बढ्दै गएको छ।